दर्शकको भीड व्यवस्थापन गर्न एनपीएलअघि मैदानमा थप संरचना

1.2k Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिएसँगै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता सुरु हुन करिब तीन साता बाँकी रहँदा नेपाल क्रिकेट संघ (क्यान) ले मैदानको पूर्वाधार र दर्शक व्यवस्थापनमा तीव्रता दिएको छ।

यसपटक अघिल्ला संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी समस्या दोहोरिन नदिने गरी मैदानमा केही नयाँ संरचना थपिँदै छन्। विशेषगरी दर्शकको चापलाई ध्यानमा राख्दै उपलब्ध स्थानको अधिकतम उपयोग गरी दर्शक क्षमता बढाउने तयारी भइरहेको क्यानले जनाएको छ।

क्यानका सचिव पारस खड्काका अनुसार मैदान परिसरमा थप दर्शक अटाउन सक्ने स्थान पहिचान गरी आवश्यक संरचनात्मक परिवर्तन भइरहेको छ। साथै मैदान प्रवेश गर्ने बाटो र गेट व्यवस्थापनमा समेत सम्बन्धित निकायसँग समन्वय गरी सुधारको काम भइरहेको छ।

टिकट लिएर मैदान पुग्ने दर्शकलाई प्रवेशदेखि खेल हेरेर फर्किंदासम्म सहज वातावरण उपलब्ध गराउने गरी व्यवस्थापनमा विशेष ध्यान दिइएको छ। अघिल्लो संस्करणमा शौचालय, आवतजावत तथा धुलोका कारण दर्शकले समस्या भोगेको भन्दै यसपटक त्यस्ता समस्या हटाउने तयारी गरिएको हो।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ। दसैँ–तिहारको बीचमा प्रतियोगिता आयोजना हुने भए पनि नेपाली क्रिकेटको बलियो समर्थक आधारका कारण दर्शकको उत्साहमा कमी नआउने क्यानको अपेक्षा छ।

प्रतियोगिताका सहभागी टोलीहरूले विदेशी तथा अन्तर्राष्ट्रिय स्तरका चर्चित खेलाडी अनुबन्ध गर्ने क्रमसमेत तीव्र पारेका छन्। टेलिभिजनमा हेर्दै आएका चर्चित खेलाडीलाई कीर्तिपुर मैदानमै प्रत्यक्ष हेर्न पाउने भएपछि यसपटक एनपीएलप्रति दर्शकको आकर्षण अझ बढ्ने अपेक्षा गरिएको छ।

यसैबीच, आगामी अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत लक्षित गरी कीर्तिपुर र मुलपानी क्रिकेट मैदानको पूर्वाधार सुधारमा काम भइरहेको छ। दर्शकका लागि प्यारापिट, विश्रामस्थल तथा विभिन्न विशेष संरचना निर्माण गर्ने तयारीसमेत भइरहेको छ।

सम्बन्धित समाचार