काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा हुनुभएको छ। यसअघि बैंकको नायब महाप्रबन्धकका रूपमा कार्यरत अकेलालाई बैंकले एसीईओको जिम्मेवारी दिएको हो।
बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव हासिल गर्नुभएका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा बैंकिङ करिअर सुरु गर्नुभएको थियो। उहाँ सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध हुनुहुन्छ।
बैंकमा लामो समयदेखि कार्यरत उहाँले जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षणलगायतका महत्वपूर्ण क्षेत्रमा जिम्मेवारी सम्हालिसक्नुभएको छ। पछिल्लो समय उहाँ बैंकको प्रमुख जोखिम अधिकृत (सीआरओ) का रूपमा कार्यरत हुनुहुन्थ्यो।
अकेला बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत हुनुहुन्छ। उहाँले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गर्नुभएको छ।
बैंकले अकेलाको जोखिम व्यवस्थापन, बैंकिङ सञ्चालन तथा समग्र कार्यसम्पादनसम्बन्धी अनुभवले आगामी दिनमा बैंकको सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
ग्लोबल आइएमई बैंकले बैंकिङ क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको जनाएको छ। यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’ लगायतका सम्मान प्राप्त गरेको छ।
ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक भएको दाबी गर्छ। बैंकका हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालय छन्। यी संरचनामार्फत बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा दिँदै आएको छ।
त्यसैगरी, बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा विप्रेषण भित्र्याउँदै आएको जनाएको छ।