विभिन्न विभागको नेतृत्व गरिसकेका दीपचन्द्र रेग्मी ग्लोबल आइएमईको डीसीईओ

1.3k Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी बढुवा हुनुभएको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो।

यसअघि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत रेग्मीले बैंकिङ क्षेत्रमा १९ वर्षभन्दा लामो अनुभव हासिल गरिसक्नुभएको छ। उहाँले सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट आफ्नो बैंकिङ करिअर सुरु गर्नुभएको थियो। सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध रेग्मीले बैंकका विभिन्न महत्वपूर्ण विभागको नेतृत्व गरिसक्नुभएको छ।

रेग्मीले बैंकको प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा ट्रेड फाइनान्स प्रमुखको जिम्मेवारी सम्हालिसक्नुभएको छ। उहाँ बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत रहनुभएको छ।

उहाँले थाइल्याण्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) र डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गर्नुभएको छ।

ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधि, वित्तीय सेवाको विस्तार तथा ग्राहक सेवामा केन्द्रित हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न पुरस्कार प्राप्त गर्दै आएको छ। बैंकले सन् २०१४ मा ‘बैंक अफ द इयर’, सन् २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको छ। त्यसैगरी, बैंकले सन् २०२२, २०२४ र २०२५ मा ‘युरोमनी अवार्ड फर एक्सलेन्स’, सन् २०२४ मा ‘बेस्ट बैंक ईएसजी नेपाल’ तथा ‘बेस्ट इम्प्लोयर’ लगायतका सम्मानसमेत प्राप्त गरेको छ।

मुलुकका सबै ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंकका रूपमा रहेको ग्लोबल आइएमई बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशमा रहेका तीन प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई वित्तीय सेवा उपलब्ध गराइरहेको छ।

विदेशबाट वैधानिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउने प्रमुख वित्तीय संस्थामध्ये एक रहेको बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट विप्रेषण भित्र्याउँदै आएको छ। बैंकको यो सेवाले वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने रकम औपचारिक माध्यमबाट भित्र्याउन तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन सहयोग गर्दै आएको छ।

सम्बन्धित समाचार