वर्षे अधिवेशनमा ३५ विधेयक दर्ता, १२ पारित र ११ प्रमाणीकरण

925 Shares

प्रतिनिधिसभाको वर्षे अधिवेशनका क्रममा सरकारले ३५ वटा विधेयक संसदमा दर्ता गरेको छ। तीमध्ये १२ वटा विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भएका छन् भने ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरणसमेत भएका छन्।

सभामुख डोलप्रसाद अर्यालका अनुसार अन्य विधेयक विभिन्न संसदीय समिति तथा सदनमा छलफल र विचाराधीन अवस्थामा छन्। गत वैशाख २८ गते सुरु भएको प्रतिनिधिसभाको दोस्रो अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुँदैछ।

१४५ दिन सञ्चालन भएको अधिवेशनमा ६२ दिनमा ६८ वटा बैठक बसेका थिए। संसद्को कामकारबाहीमा कुल २७७ घण्टा ३० मिनेट खर्च भएको सभामुख अर्यालले जानकारी दिए।

दुवै सदनबाट पारित प्रमुख विधेयक

अधिवेशनका क्रममा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन), मतदाता नामावली (पहिलो संशोधन), आर्थिक, विनियोजन, राष्ट्र ऋण उठाउने तथा सार्वजनिक खरिद (दोस्रो संशोधन) लगायतका विधेयक पारित भएका छन्।

त्यस्तै, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन), सहकारी (पहिलो संशोधन), स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन तथा नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था जगाउनेसम्बन्धी विधेयक पनि दुवै सदनबाट पारित भएका छन्।

२० विधेयक समितिमा विचाराधीन

प्रतिनिधिसभाका विभिन्न समितिमा २० वटा विधेयक अझै विचाराधीन रहेका छन्। अघिल्लो अधिवेशनबाट जिम्मेवारी सरेको वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ भने यसै अधिवेशनमा दुवै सदनबाट पारित भएको छ।

संघीय निजामती सेवा विधेयक, २०८३ हाल संसदमा दर्ता भएको अवस्थामा छ भने डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३ सभामा प्रस्तुत भइसकेको छ।

नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक तथा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त तथा सुविधासम्बन्धी विधेयकका समितिगत प्रतिवेदनसमेत सदनमा पेस भएका छन्।

केही विधेयक एक सदनबाट मात्रै पारित

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट मात्रै पारित भएको छ। राष्ट्रियसभाबाट आएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८२ भने प्रतिनिधिसभाबाट पारित भएको छ। राष्ट्रियसभाबाट प्राप्त अन्य विधेयकहरू समितिमा छलफलका क्रममा छन्।

विभिन्न अध्यादेश पनि प्रक्रियामा

सरकारले ल्याएका विभिन्न अध्यादेशलाई पनि संसदले प्रक्रियामा अघि बढाएको थियो। सार्वजनिक खरिद, संवैधानिक परिषद्, सम्पत्ति शुद्धीकरण, सहकारी, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विश्वविद्यालयसम्बन्धी अध्यादेश सदनमा प्रस्तुत भएका थिए।

तीमध्ये सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश स्वीकृत भएका छन्।

बजेटसम्बन्धी संसदीय प्रक्रिया पूरा

वर्षे अधिवेशनले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी संसदीय प्रक्रिया पनि पूरा गरेको छ। विनियोजन विधेयकमाथि दफावार छलफलपछि असार ४ गते बहुमतबाट पारित भएको थियो।

यसैगरी, राजस्व तथा व्ययको वार्षिक अनुमानमाथिको छलफल र अर्थमन्त्रीको जवाफसमेत सम्पन्न भएको संसद्ले जनाएको छ।

१३ वटा प्रश्नोत्तर कार्यक्रम

अधिवेशनका क्रममा विभिन्न मन्त्रालयसँग सम्बन्धित १३ वटा प्रश्नोत्तर कार्यक्रम सञ्चालन भएका थिए। जवाफ दिन बाँकी मन्त्रालयबाट मौखिक १६ तथा लिखित ८ प्रश्नका उत्तरसमेत सदनमा पेस गरिएको सभामुख अर्यालले जानकारी दिए।

सम्बन्धित समाचार