काठमाडौँ । चाडपर्वका बेला बढ्ने यात्रुको चापलाई ध्यानमा राख्दै काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, काठमाडौँ महानगरपालिका, यातायात व्यवसायी तथा मजदुरको सहकार्यमा स्थापना गरिएको सहायता कक्षको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा राठौरले चाडपर्वका समयमा यात्रुको संख्या बढ्ने भएकाले उनीहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए। यात्रुलाई ठगी, लुटपाट वा अन्य किसिमका झुक्याउने गतिविधि हुन नदिन प्रहरी सक्रिय रहने उनको भनाइ थियो।
टिकटको नाममा हुने कालोबजारी नियन्त्रणका लागि प्रहरी चनाखो रहेको उल्लेख गर्दै उनले यात्रुलाई आधिकारिक टिकट लिएर मात्र यात्रा गर्न आग्रह गरे। सवारी चालकलाई मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी नचलाउन पनि उनले सचेत गराए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुन्यप्रसाद सिटौलाले अघिल्ला वर्षको तुलनामा यस वर्ष चाडपर्वमा यातायात सञ्चालनमा थप चुनौती देखिएको बताए। देशका विभिन्न क्षेत्रमा भएको अविरल वर्षाका कारण राष्ट्रिय राजमार्गहरू प्रभावित हुँदा यातायात सेवा सञ्चालनमा कठिनाइ भएको उनले बताए।
सिटौलाले प्रतिकूल अवस्थामा पनि यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याउन भूमिका निर्वाह गर्ने चालकलाई धन्यवाद दिँदै क्षतिग्रस्त सडक तत्काल मर्मतसम्भार गर्न सरकारसँग आग्रह गरे। चाडपर्वको समयमा कालो नम्बर प्लेटका सार्वजनिक सवारीलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै उनले यात्रुसँग तोकिएभन्दा बढी भाडा नलिन यातायात व्यवसायीलाई आग्रह गरे।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले चाडपर्वका समयमा सवारी दुर्घटना न्यूनीकरण गर्न चालक, व्यवसायी, प्रहरी तथा यात्रु सबैको भूमिका महत्वपूर्ण हुने बताए। उनले चाडपर्वलाई लक्षित गर्दै उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जानकारी दिए।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका उपाध्यक्ष नवराज घिमिरेले चाडपर्वको समयमा दुर्घटना रोक्न चालकहरू अझ बढी जिम्मेवार र सचेत हुनुपर्ने बताए।
कार्यक्रममा प्रहरी अधिकारी, यातायात व्यवसायी, लोत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधि, चालक, सहचालक तथा महानगर प्रहरीको सहभागिता थियो।