काठमाडौँ । यस वर्षको मनसुन प्रणाली नेपालबाट बाहिरिने चरणमा पुगेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन कमजोर बन्दै गएकाले आगामी एक–दुई दिनभित्र पश्चिम नेपालबाट यसको बहिर्गमन प्रक्रिया सुरु हुने सम्भावना छ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार सुरुवातमा पश्चिमी भूभागबाट मनसुन बाहिरिन थाल्नेछ। त्यसपछि क्रमशः पूर्वतर्फ सर्दै मनसुनले देशभरबाट पूर्ण रूपमा बिदा लिनेछ।
नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १३ र बाहिरिने औसत मिति अक्टोबर २ हो। यस वर्ष पनि मनसुन आफ्नो नियमित बहिर्गमनको समय नजिक पुगेको विभागले जनाएको छ।
मनसुन बाहिरिएसँगै मनसुनी प्रणालीका कारण हुने लगातारको वर्षामा कमी आउनेछ। यद्यपि, मनसुन समाप्त हुँदैमा नेपालमा वर्षा पूर्ण रूपमा रोकिने छैन।
विभागका अनुसार मनसुनपछि पनि पश्चिमी वायु तथा स्थानीय मौसमी प्रणाली सक्रिय हुँदा विभिन्न स्थानमा छिटपुट वा केही समयका लागि वर्षा हुन सक्ने सम्भावना कायमै रहनेछ।