काठमाडौं । आइएमई लिमिटेडले आफ्नो २६ वर्षे यात्रामा देशको रेमिट्यान्स क्षेत्रको विकाससँगै नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको जनाएको छ।
आइएमई लिमिटेडको हालै सम्पन्न २६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले २६ वर्षअघि विदेशमा रहेका नेपालीले आर्जन गरेको रकम सुरक्षित र औपचारिक माध्यमबाट स्वदेश पठाउने उद्देश्यले सुरु गरिएको यात्रा आज रेमिट्यान्स क्षेत्रको महत्वपूर्ण उपलब्धिमा परिणत भएको बताएका हुन्।
ढकालले निजी क्षेत्रको अगुवाइमा संवेदनशील वित्तीय सेवा सञ्चालन गर्ने क्रममा विभिन्न नीतिगत तथा व्यावहारिक चुनौती भए पनि विदेशमा रहेका नेपालीको कमाइ सुरक्षित, मर्यादित र सम्मानपूर्वक स्वदेश भित्र्याउने उद्देश्यमा आफूहरू निरन्तर अघि बढेको उल्लेख गरे।
उनका अनुसार अहिले आइएमई लिमिटेड र यससँग आबद्ध संस्थामार्फत नेपाल भित्रिने कुल रेमिट्यान्सको ५० प्रतिशतभन्दा बढी हिस्सा औपचारिक माध्यमबाट भित्रिँदै आएको छ। उनले यसलाई व्यावसायिक उपलब्धिभन्दा पनि देश–विदेशमा रहेका लाखौँ नेपालीले आइएमईप्रति गरेको विश्वास र भरोसाको प्रमाणका रूपमा व्याख्या गरेका छन्।
ढकालले पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै आइएमई पनि डिजिटल रूपान्तरणको अग्रपंक्तिमा रहेको बताए। आधुनिक डिजिटल प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई आत्मसात् गर्दै सेवा थप सहज, सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउने काम भइरहेको उनले बताए।
उनले ‘खल्ती (Khalti by IME)’ जस्ता डिजिटल प्लेटफर्ममार्फत सेवाहरूलाई थप विस्तार गर्दै ग्राहकको जीवन सहज बनाउने नयाँ प्रविधि र नवप्रवर्तनलाई निरन्तर अघि बढाइने बताए।
२६ वर्षको यात्रामा सहयोग गर्ने नेपाली श्रमिक, नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकाय, गैरआवासीय नेपाली, कर्मचारी तथा विश्वभरका व्यावसायिक साझेदारप्रति ढकालले आभार व्यक्त गरेका छन्।
उनले आगामी दिनमा नेपालको अर्थतन्त्रलाई थप सबल बनाउने, वित्तीय पहुँचलाई देशका कुनाकाप्चासम्म विस्तार गर्ने तथा ‘डिजिटल नेपाल’ निर्माणको अभियानमा योगदान पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।