दशैं–तिहारअघि देशभरका सडक मर्मत गर्न मन्त्री लम्सालको निर्देशन

897 Shares

काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै देशभरका सडकको मर्मत तथा सरसफाइको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन्।

प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्व लक्षित यातायात व्यवस्थापनसम्बन्धी प्रतिवेदन बुझाएपछि मन्त्री लम्सालले मन्त्रालयका सचिव तथा सम्बन्धित निकायका अधिकारीलाई सडक सुधारको काम तीव्र बनाउन निर्देशन दिएका हुन्।

मन्त्री लम्सालले वर्षाका कारण क्षतिग्रस्त सडक मर्मत गर्न, सडकका खाल्डाखुल्डी पुर्न तथा सडक सरसफाइ गर्न निर्देशन दिएका छन्। चाडपर्वका बेला गाउँघर फर्किने यात्रुलाई सहज हुने गरी सडकको अवस्था सुधार गर्नुपर्नेमा उनले जोड दिएका छन्।

यात्रुको आवागमनलाई सुरक्षित, सहज र व्यवस्थित बनाउन आवश्यक सबै तयारी समयमै पूरा गर्नुपर्ने मन्त्री लम्सालको भनाइ छ।

यसअघि पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा गएको टोलीले सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री लम्साललाई चाडपर्वमा यातायात व्यवस्थापनसम्बन्धी प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदनमा चाडपर्वका समयमा यात्रुको चापलाई ध्यानमा राख्दै पर्याप्त संख्यामा सवारीसाधन व्यवस्थापन गर्नुपर्ने सुझाव दिइएको छ। साथै, यात्रुलाई सहज र व्यवस्थित सेवा उपलब्ध गराउन निर्धारित बसपार्क र आधिकारिक टिकट काउन्टरबाट मात्र सेवा सञ्चालन गर्नुपर्ने विषयलाई समेत प्राथमिकताका साथ उठाइएको छ।

सम्बन्धित समाचार