रौतहट । रौतहटको चन्द्रनिगाहपुर–गौर सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। चन्द्रपुर नगरपालिका–८ बसन्तपुरमा भएको दुर्घटनामा स्थानीय ६५ वर्षीय सीताराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार राति सडकमा हिँडिरहेका चौधरीलाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी सत्यनारायण थापाका अनुसार दुर्घटनामा संलग्न मोटरसाइकल र चालकको पहिचान हुन सकेको छैन। प्रहरीले फरार चालक तथा मोटरसाइकलको खोजी गरिरहेको जनाएको छ।
घटनास्थल आसपास जडान गरिएका सीसीटीभी क्यामेरा प्रभावकारी रूपमा सञ्चालनमा नरहेको स्थानीयले बताएका छन्। क्यामेरा सञ्चालनमा भएको भए फरार मोटरसाइकलको नम्बर वा चालकको पहिचान गर्न अनुसन्धानमा सहयोग पुग्ने उनीहरूको भनाइ छ।