सन् २०२७ को एकदिवसीय विश्वकपमा १४ टोली, तीन चरणमा मुख्य प्रतियोगिता
1.2k
Shares
काठमाडौं । सन् २०२७ मा आयोजना हुने आईसीसी पुरुष एकदिवसीय विश्वकपमा १४ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले प्रतियोगिताको नयाँ ढाँचा सार्वजनिक गर्दै विश्वकपलाई तीन चरणमा सञ्चालन गर्ने जनाएको छ।
सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्नेछन्। प्रतियोगिता अक्टोबरदेखि नोभेम्बरसम्म सञ्चालन हुनेछ र कुल ५७ खेल खेलाइनेछ।
प्रतियोगिताको पहिलो चरणमा १४ टोलीमध्ये वरीयताका आधारमा सबैभन्दा तल रहेका तीन टोलीले ‘सुपर सिरिज’ खेल्नेछन्। ती तीन टोलीबीच राउन्ड रोबिनका आधारमा खेल हुनेछ र शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ।
दोस्रो चरणमा १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहमा ६ टोली रहनेछन् र राउन्ड रोबिनका आधारमा खेल खेलाइनेछ। दुवै समूहबाट शीर्ष तीन टोली तथा दुवै समूहमा सातौँ स्थानका लागि उत्कृष्ट प्रदर्शन गर्ने अर्को एक टोली गरी कुल सात टोली ‘सुपर–७’ चरणमा पुग्नेछन्।
सुपर–७ चरणमा सात टोलीले एकअर्काविरुद्ध खेल्नेछन्। यस चरणबाट शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। पहिलो स्थानमा रहने टोलीले चौथो स्थानको टोलीसँग तथा दोस्रो स्थानको टोलीले तेस्रो स्थानको टोलीसँग सेमिफाइनल खेल्नेछ। सेमिफाइनलका विजेताबीच उपाधिका लागि फाइनल हुनेछ।
आईसीसीका अनुसार नयाँ ढाँचाले प्रतियोगिताको सुरुदेखि नै हरेक खेलको महत्त्व बढाउने उद्देश्य राखेको छ। २०२७ को विश्वकपमा अफ्रिका महादेशमा २४ वर्षपछि पुरुष एकदिवसीय विश्वकप फर्किन लागेको हो।