काठमाडौं । पछिल्लो वर्षा, बाढी र पहिरोका कारण देशभर अवरुद्ध बनेका सडक तथा यातायात सञ्जाल खुलाउन सरकारले युद्धस्तरमा काम अघि बढाएको छ । सडक विभागका अनुसार वर्षा कम भएसँगै अवरुद्ध सडकखण्डमा पहिरो पन्छाउने, ट्र्याक खोल्ने तथा क्षतिग्रस्त संरचना मर्मत गर्ने काम तीव्र पारिएको छ ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार थप क्षति नभए अवरुद्ध अधिकांश सडक छोटो समयमै सञ्चालनमा ल्याउने तयारी छ । पूर्णरूपमा सडक बगेका स्थानमा समेत दूरी कम भएकाले अस्थायी ट्र्याक खोलेर यातायात सञ्चालन गर्न सकिने उनले बताएका छन् ।
यस क्रममा बेनी–जोमसोम–कोरला सडकखण्डलाई विशेष प्राथमिकता दिइएको छ । पोखरेबगर–नौली बजार जोड्ने मोटरेबल पुल सुरक्षित रहे पनि बाढीले पुलको एप्रोच सडक बगाएपछि कोरला नाकातर्फको यातायात सम्पर्क टुटेको छ ।
महानिर्देशक जैसीका अनुसार पुल सुरक्षित रहेकाले एप्रोच सडक निर्माण गरी काम सुरु भएको २४ घण्टाभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । कोरला नाका नेपाल–चीनबीच सञ्चालनमा रहेको महत्त्वपूर्ण व्यापारिक नाका भएकाले यसलाई लामो समय बन्द हुन नदिने विभागको तयारी छ ।
यसअघि रसुवागढी नाका बाढीका कारण बन्द भएपछि चीनसँगको व्यापारको ठूलो हिस्सा कोरला नाकातर्फ मोडिएको थियो । तर बेनी–जोमसोम सडकमा बाढी तथा पहिरोले क्षति पुर्याएपछि कोरलाबाट भइरहेको व्यापारसमेत प्रभावित भएको थियो ।
सडक विभागका अनुसार बीपी राजमार्ग सञ्चालनमा ल्याउन भने केही समय लाग्ने देखिएको छ । काभ्रेको रोशी गाउँपालिकाका कालढुङ्गा, डालाबेँसी, माम्ती, पिप्ले, घुमाउने तथा पिन्थलीबेँसी र सिन्धुलीको बालुवालगायत क्षेत्रमा सडक तथा डाइभर्सन बगेका छन् ।
पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरो हटाउने काम पनि जारी छ । कान्ति लोकपथसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको विभागले जनाएको छ । बेनी–जोमसोम सडकको म्याग्दीस्थित बैसरी, सुकेबगरलगायत क्षेत्रमा पनि क्षतिग्रस्त सडक मर्मतलाई प्राथमिकता दिइएको छ ।
यसैगरी चामे–बेँसीसहर सडक, मध्यपहाडी राजमार्गको बागलुङ तथा रुकुम खण्ड र कर्णाली राजमार्गका विभिन्न स्थानमा बाढीपहिरोले क्षति पुर्याएको छ । डुम्रे–बेँसीसहर–चामे सडकखण्डमा मर्स्याङ्दी नदीको कटानका कारण केही स्थानमा सडक पूर्णरूपमा भासिएको छ भने मनाङमा अस्थायी पुलसमेत बगेका छन् ।
बाढीपहिरोले सडकसँगै विभिन्न झोलुङ्गे पुल र खानेपानी आयोजनामा समेत क्षति पुर्याएको छ । प्रारम्भिक विवरणअनुसार ३१ वटा खानेपानी आयोजना प्रभावित भएका छन् ।
यसैबीच नेपाल–चीन व्यापार सञ्चालनका लागि अरनिको राजमार्गसमेत विकल्पका रूपमा रहेको छ । धुलिखेल–खावा खण्डमा पहिरो हटाएर यातायात सञ्चालनमा ल्याइएको भए पनि तातोपानी नाकाबाट चीनले एकतर्फी व्यापार बन्द गरेको विभागले जनाएको छ ।
बाढीपहिरोबाट क्षतिग्रस्त सडक संरचना तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउने र दीर्घकालीन रूपमा वैकल्पिक सडक तथा पूर्वाधार निर्माणलाई अघि बढाउने सरकारको तयारी छ । रसुवागढी नाका पुनः सञ्चालन तथा कोरला र तातोपानी नाकाको प्रभावकारी सञ्चालनका विषयमा पनि नेपालले चीनसँग सहकार्यका लागि पहल गरिरहेको छ ।