काठमाडौँ । अविरल वर्षाका कारण काठमाडौँ उपत्यकामा आपूर्ति गर्न ल्याइएका १०५ वटा एलपी ग्यास बुलेट बाटोमै रोकिएका छन्। बुधबारदेखि लगातार परेको वर्षाका कारण भारतबाट ग्यास बोकेर आएका बुलेट चितवन, हेटौँडा तथा आसपासका क्षेत्रमा रोकिएका हुन्।
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार रोकिएका बुलेटमा करिब एक लाख ५० हजार सिलिन्डर बराबरको ग्यास रहेको छ। सडक खुलेलगत्तै ती बुलेट उपत्यका भित्रिने र त्यसपछि बजारमा ग्यास आपूर्ति सहज हुने उनले बताए।
ठाकुरका अनुसार भारतबाट ग्यास आयातमा समस्या छैन। बरौनी, पारादीप र हल्दियालगायत स्थानबाट ग्यास लोड भएर आएका बुलेट चितवन र हेटौँडा आसपास पुगिसकेका छन्। कृष्णभिर तथा धादिङका अन्य स्थानमा खसेको पहिरो पन्छाएपछि ती बुलेट उपत्यका भित्रिन थाल्नेछन्।
निगमका अनुसार काठमाडौँ उपत्यकामा बिक्री हुने १६ वटा ग्यास ब्रान्डका लागि लोड गरिएका बुलेट वीरगन्ज भन्सारबाट क्लियर भइसकेका छन्। केही चितवनको रामनगर, केही हेटौँडा र केही अन्य सुरक्षित स्थानमा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा रोकिएका छन्।
एउटा ग्यास बुलेटमा १८ देखि २० टन एलपी ग्यास हुने र त्यसबाट करिब एक हजार २५० सिलिन्डर भर्न सकिने निगमले जनाएको छ।
सडक खुल्नेबित्तिकै लगातार तीन–चार दिन दैनिक ५० हजारदेखि ६० हजार सिलिन्डरका दरले बजारमा पठाउन सकिने निगमको भनाइ छ। आइतबार मात्रै १७ हजार सिलिन्डर बजारमा वितरण गरिएको निगमले जनाएको छ।
निगमका प्रवक्ता ठाकुरले सडक खुलेपछि ग्यास आयात र वितरण नियमित हुने भएकाले उपभोक्तालाई नआत्तिन आग्रह गरेका छन्।
यसैबीच चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा एक लाख १७ हजार १६८ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ।
भन्सार विभागका अनुसार साउन र भदौमा १६ अर्ब २६ करोड रुपैयाँ बराबरको ग्यास आयात भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा नौ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ बराबरको ९१ हजार ९६३ मेट्रिक टन ग्यास आयात भएको थियो।
गत वर्षको तुलनामा यस वर्ष पहिलो दुई महिनामा करिब २६ हजार मेट्रिक टन बढी ग्यास आयात भएको छ। बजारमा अभाव कम गर्न भदौमा ५९ हजार ८३३ मेट्रिक टन र साउनमा ५७ हजार ३३५ मेट्रिक टन ग्यास आयात गरिएको निगमले जनाएको छ।
आयातको मात्रा बढे पनि सडक अवरोधका कारण बजारमा ग्यासको आपूर्ति प्रभावित हुँदा अभाव भने कायमै रहेको छ।