काठमाडौं । ग्लोबल आईएमई बैंकले दुई दशकको व्यावसायिक यात्रा पूरा गरेको छ। बैंकले यही असोज १६ गते २०औँ वार्षिक साधारण सभा आयोजना गर्ने जनाएको छ। दुई दशकको अवधिमा बैंकले वित्तीय आकार, ग्राहक आधार, सेवा सञ्जाल, डिजिटल क्षमता र व्यावसायिक पहुँच विस्तार गर्दै आएको जनाएको छ।
बैंकका अनुसार आगामी दिनमा दिगो प्रतिफल, डिजिटल रूपान्तरण, उत्कृष्ट ग्राहक सेवा, जिम्मेवार बैंकिङ र सुदृढ जोखिम व्यवस्थापनलाई एकीकृत गर्दै दीर्घकालीन व्यावसायिक वृद्धिको रणनीति अघि बढाइएको छ।
आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म बैंकको कुल निक्षेप २१.८० प्रतिशतले वृद्धि भई ७ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। कुल कर्जा लगानी ८.२२ प्रतिशतले बढेर ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ। सो अवधिमा चुक्ता पुँजी ३८ अर्ब ११ करोड ६० लाख रुपैयाँ पुगेको छ भने बैंकले ६ अर्ब ३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशत बढी हो।
वित्तीय प्रदर्शनका आधारमा बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा लैजाने भएको छ। साधारण सभाबाट प्रस्ताव स्वीकृत भएपछि लाभांश वितरण गरिने बैंकले जनाएको छ। बैंकले ‘मिशन २०३०’ अन्तर्गत लगानीकर्तालाई दिगो प्रतिफल दिने विषयलाई प्रमुख रणनीतिक स्तम्भ बनाएको छ।
ग्राहकलाई सहज बैंकिङ पहुँच पुर्याउन ग्लोबल आईएमईले देशभर एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिइरहेको जनाएको छ। बैंकका ३८४ शाखा, ३६६ एटीएम, १८४ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर सञ्चालनमा छन्।
विदेशमा रहेका नेपाली तथा गैरआवासीय नेपालीलाई लक्षित गर्दै बैंकले तीनवटा प्रतिनिधि कार्यालयमार्फत रेमिट्यान्स तथा ओभरसिज बैंकिङ सेवाको विस्तारलाई समेत प्राथमिकता दिएको छ।
बैंकले आगामी दिनमा ‘डिजिटल–फर्स्ट बैंकिङ’लाई व्यवसाय विस्तार र ग्राहक सेवाको मुख्य आधार बनाउने जनाएको छ। हाल २८ भन्दा बढी डिजिटल वर्कफ्लो सञ्चालनमा रहेको र त्यसबाट ४६ हजारभन्दा बढी सेवा अनुरोध प्रशोधन भइसकेको बैंकको भनाइ छ।
नियमित तथा दोहोरिने कामलाई स्वचालित बनाउन १६ वटा व्यावसायिक प्रक्रियामा रोबोटिक प्रोसेस अटोमेसन विस्तार गरिएको छ। ग्राहक सेवा, कर्मचारी क्षमता, व्यवसाय विस्तार र जोखिम व्यवस्थापनमा प्रविधिको प्रयोग बढाउन ‘ग्लोबल जीपीटी’ र ‘डकुमेन्ट क्वेरिज सिस्टम’ जस्ता एआई प्रणाली प्रयोगमा ल्याइएको बैंकले जनाएको छ।
‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल बैंकिङ एपमा व्यक्तिगत वित्तीय व्यवस्थापन, आईपीओ आवेदन, फन्ड ट्रान्सफर र पुँजी बजारसम्बन्धी सेवा थपिएको छ। कर्पोरेट ग्राहकका लागि ‘ग्लोबल बिजनेक्स’मा समेत सुधार गरिएको छ।
अनलाइन खाता खोल्ने र भिडियो केवाईसीको सुविधामार्फत बैंकिङ सेवालाई थप सहज बनाइएको बैंकले जनाएको छ। नयाँ पुस्तालाई लक्षित गर्दै ‘नेक्स्ट जेन एकाउन्ट’, ‘राउन्ड–अप’ र ‘गोल–बेस्ड डिपोजिट’ जस्ता उत्पादन सञ्चालनमा ल्याइएको छ।
व्यवसाय विस्तारसँगै कर्जाको गुणस्तर र जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बैंकले ‘डेडिकेटेड लोन मोनिटरिङ डिपार्टमेन्ट’ स्थापना गरेको जनाएको छ। कर्जा मूल्याङ्कनका लागि स्कोरिङ मोडेल, वित्तीय मूल्याङ्कन, परियोजना मूल्याङ्कन र लोन मोनिटरिङ प्रणाली लागू गरिएको छ।
डिजिटल कारोबारको सुरक्षाका लागि इन्फर्मेसन सेक्युरिटी अडिट, पीसीआई, डीएसएस र स्वीफ्ट सीएसपीलगायतका अभ्यास अपनाइएको बैंकले जनाएको छ। साइबर जोखिम नियन्त्रणका लागि एसओसी/एसआईईएम, भल्नरेबिलिटी म्यानेजमेन्ट, थ्रेट डिटेक्सन र फ्रड प्रिभेन्सन प्रणालीलाई समेत सुदृढ बनाइएको छ।
बैंकले हरित कर्जाअन्तर्गत ग्रीन होम लोन, रुफटप सोलार पीभी लोन, क्लाइमेट/स्मार्ट एग्रिकल्चर लोन र ग्रीन एसएमई लोनमार्फत लगानी विस्तार गरिरहेको जनाएको छ। दिगो तथा वातावरणमैत्री वित्तीय गतिविधिलाई संस्थागत गर्न ‘सस्टेनेबल बैंकिङ कमिटी’ गठन गरिएको छ।
आगामी दिनमा ग्रीन बन्ड, सस्टेनेबिलिटी बन्ड र क्लाइमेट फन्डजस्ता दिगो वित्तीय उपकरण जारी गर्ने योजना पनि बैंकले अघि सारेको छ।