काठमाडौंसहित अधिकांश क्षेत्रमा मौसम आंशिक बदली रहने, केही ठाउँमा मेघगर्जनसहित वर्षा

827 Shares

काठमाडौँ । देशभर आज दिउँसो मौसम आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

विभागका अनुसार सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ।

रातिको समयमा पनि देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा समेत आंशिक बदली रहने विभागको पूर्वानुमान छ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

राति हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

सम्बन्धित समाचार