काठमाडौं । मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा अझै १४ जना बेपत्ता रहेको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले जनाएको छ । हिमपहिरोमा परेका १६ जनामध्ये दुई जना पर्वतारोहण गाइडको शव भेटिएको एसोसिएसनले जनाएको हो ।
एसोसिएसनका अनुसार हिमपहिरोपछि १४ जना किचेन स्टाफ र दुई जना पर्वतारोहण गाइड बेपत्ता भएका थिए । उनीहरू विभिन्न पर्वतारोहण कम्पनीमार्फत हिमलुङ क्षेत्रमा पुगेका थिए । मृत भेटिएका दुई गाइडको पहिचान भने सार्वजनिक गरिएको छैन ।
खोज तथा उद्धारका लागि नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको टोली प्रभु हेलिकोप्टरमार्फत घटनास्थल पुगेको छ । मिङ्मा जी, पासाङकाजी शेर्पा, आशिष गुरुङ र पेम्बाछिरिङ शेर्पासहितका उद्धारकर्मी घटनास्थलमा पुगेर खोजी गरिरहेका छन् । थप चार उद्धारकर्मीसमेत घटनास्थलतर्फ जाने तयारीमा छन् ।
यसअघि मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा आइतबार बिहान हिमपहिरो जाँदा १० जना सम्पर्कविहीन भएको प्रारम्भिक जानकारी आएको थियो । पछि पर्वतारोहण गाइड एसोसिएसनले घटनामा कुल १६ जना बेपत्ता भएको विवरण सार्वजनिक गरेको हो ।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार यसअघि दुई जनाको शव हेलिकोप्टरमार्फत चामे ल्याइएको थियो । रात परिसकेकाले बाँकीको खोजी तथा उद्धार तत्काल अघि बढाउन कठिन भएको र खोजी कार्य पुनः सञ्चालन गरिने जनाइएको छ ।
हिमलुङ क्षेत्रमा हिमपहिरोसँगै मनाङका अन्य क्षेत्रमा पनि भारी वर्षा र बाढीको प्रभाव देखिएको छ । चामेमा ठाडो खोलाबाट आएको लेदोले मर्स्याङ्दी नदीमा अस्थायी अवरोध बनेको छ भने बाढीका कारण दुई काठेपुल, दुई कजवे र पाँच घरमा क्षति पुगेको प्रशासनले जनाएको छ । ताल गाउँमा करिब १० घर डुबानमा परेका छन् भने नासों गाउँपालिकाको मर्स्याङ्दीमाथिको झोलुंगे पुलसमेत बगेको छ ।