बाढी–पहिरोमा परेकाको उद्धार तीव्र, सेनाले एकैदिन ६८४ जनालाई सुरक्षित स्थानमा पुर्‍यायो

1.4k Shares

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा डुबानका कारण प्रभावित विभिन्न क्षेत्रबाट नेपाली सेनाले आज ६८४ जनाको उद्धार गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनाले पर्वत, म्याग्दी, बागलुङ र जाजरकोटका विभिन्न स्थानबाट प्रभावितलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा पहिरोमा फसेका ७८ जनालाई सैनिक हेलिकोप्टरमार्फत उद्धार गरी मुक्तिमार्ग माध्यमिक विद्यालयमा लगिएको छ । त्यस्तै पर्वत, म्याग्दी र बागलुङबाट ६०२ जनालाई स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा सारिएको सेनाले जनाएको छ ।

पाल्पाको रामपुर नगरपालिका–४ वडाबानघाटमा कालीगण्डकी नदी बस्तीमा पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । यस्तै, जाजरकोटको भेरी नगरपालिका–१३ कुदुस्थित भेरी नदीको टापुमा फसेका चार जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

सेनाले प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने कामलाई पनि निरन्तरता दिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित मुक्तिमार्ग माध्यमिक विद्यालय, बागलुङको तमानखोला गाउँपालिकास्थित सोलेडाँडा र पर्वतको जलजला गाउँपालिकामा सैनिक हेलिकोप्टरमार्फत ९७९ किलो राहत सामग्री ढुवानी गरिएको छ ।

यसैबीच, डडेल्धुराको आलिताल गाउँपालिका–८ भगरियामा पहिरोका कारण अवरुद्ध जोगबुडा–बुडर सडकखण्डबाट पहिरो हटाएर सञ्चालनमा ल्याइएको सेनाले जनाएको छ ।

रौतहटको मौलापुर नगरपालिका–१ मर्यादापुरस्थित लालबकैया नदीमा करिब ८० मिटर बाँध मर्मत गरी मजबुत बनाउने कामसमेत सेनाले गरेको छ ।

सम्बन्धित समाचार