कुलेखानी–फाखेल सडक भासिएपछि हेटौँडा–काठमाडौं यातायात ठप्प

1k Shares

मकवानपुर । लगातारको वर्षाका कारण हेटौँडा–काठमाडौं जोड्ने कुलेखानी–फाखेल सडकखण्ड भासिएपछि उक्त सडकमा यातायात सञ्चालन बन्द गरिएको छ।

इन्द्रसरोवर गाउँपालिका–२ किटिनीमा सडकको ठूलो हिस्सा भासिएपछि सवारी आवागमन जोखिमपूर्ण बनेको हो। यसअघि पनि वर्षाका कारण क्षति पुगेको सडक मर्मत गरेर यातायात सञ्चालनमा ल्याइएको थियो। तर पुनः सडक भासिएपछि आवागमन रोकिएको हो।

पूर्वाधार विकास कार्यालय मकवानपुरका अनुसार अहिले पनि वर्षा भइरहेकाले तत्काल सडक मर्मतको काम अघि बढाउन कठिन भएको छ। सडकको अवस्थाबारे जियोटेक्निकल अध्ययन भइरहेको र अध्ययनको निष्कर्षका आधारमा स्थायी समाधानको प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।

सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौं आवतजावत गर्ने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। वर्षा रोकिएपछि सडकको अवस्था मूल्याङ्कन गरी सम्भव भए एकतर्फी रूपमा सवारी सञ्चालन गर्न सकिने कार्यालयले जनाएको छ।

लगातारको वर्षाका कारण सडकमा थप क्षति हुन सक्ने भएकाले यात्रुलाई जोखिम मोलेर उक्त सडकखण्ड प्रयोग नगर्नसमेत आग्रह गरिएको छ।

सम्बन्धित समाचार