मर्स्याङ्दी नदीले गाउँ डुबाएपछि वडाध्यक्षको गुहार : ‘प्रशासनलाई खबर पुर्‍याइदिनू’

1.4k Shares

मनाङ । मनाङको ताल गाउँमा मर्स्याङ्दी नदीको बाढी पस्दा स्थानीय बस्ती प्रभावित भएको छ। नदीको बहाव बढ्दै गएपछि गाउँका विभिन्न क्षेत्रमा पानी पस्न थालेको र अवस्था थप जोखिमपूर्ण बन्दै गएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।

ताल गाउँका वडाध्यक्षले मर्स्याङ्दी नदीले गाउँलाई क्रमशः चेप्दै ल्याएको भन्दै तत्काल प्रशासनलाई जानकारी गराउन आग्रह गरेका छन्। बाढीका कारण स्थानीयको आवतजावतमा समस्या हुनुका साथै सडक तथा सञ्चार सम्पर्कसमेत प्रभावित भएको जनाइएको छ।

नदीको पानी बस्ती नजिकसम्म पुगेपछि स्थानीयमा त्रास बढेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै उद्धार तथा राहतका लागि सम्बन्धित निकायलाई तत्काल परिचालन गर्नुपर्ने अवस्था रहेको जनप्रतिनिधिको भनाइ छ।

मनाङमा पछिल्लो समय भारी वर्षा, नदीको बढ्दो बहाव तथा पहिरोका कारण सडक र यातायातमा समेत समस्या देखिँदै आएको छ। यसअघि पनि बेंसीसहर–चामे सडकखण्डमा पहिरो र ठूलो ढुंगा खस्दा यातायात अवरुद्ध भएको थियो।

मर्स्याङ्दी नदी आसपासका बस्तीमा जोखिम बढिरहेकाले स्थानीय प्रशासन तथा सुरक्षा निकायले सम्भावित विपद्का लागि सतर्कता अपनाउनुपर्ने देखिएको छ।

सम्बन्धित समाचार