लगातार वर्षाले देशभर बाढीपहिरोको जोखिम, प्रमुख राजमार्ग प्रभावित

862 Shares

काठमाडौँ । निरन्तर वर्षासँगै देशभर बाढी, पहिरो, सडक भासिने तथा खोला–नदी आसपासका क्षेत्रमा डुबानको जोखिम बढेको छ। वर्षाका कारण पृथ्वी, बीपी, सिद्धिचरण, मध्यपहाडी, कालीगण्डकी, तमोर, राप्ती र कर्णालीलगायत प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध हुँदा यातायात प्रभावित भएको छ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पृथ्वी राजमार्गको कृष्णभिर, चौकीभिर, जवाङ खोला र फिस्लिङ क्षेत्रमा यातायात प्रभावित भएको छ। ती स्थानमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको भए पनि वर्षा नरोकिएकाले सडक पुनः अवरुद्ध हुने जोखिम कायमै छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले लगातारको वर्षाका कारण पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन चुनौती देखिएको बताउनुभयो। उहाँका अनुसार सडकमा पहिरो पन्छाउने काम भइरहेको भए पनि वर्षा जारी रहेकाले तत्कालै सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको छ।

बीपी राजमार्गका माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो तथा डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ।

त्यस्तै, कान्ति राजमार्गको मकवानपुर खण्डमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको छ भने ललितपुर खण्डमा सडक खुलाउने काम जारी छ। सिद्धिचरण राजमार्गको ओखलढुङ्गा–सल्लेरी खण्डमा सडक भासिएपछि एक्साभेटर, रक ब्रेकर र ह्विल लोडर परिचालन गरिएको छ।

मध्यपहाडी राजमार्गअन्तर्गत निसी गाउँपालिका–कानाबगरमा लेदोसहित पहिरो आउने क्रम नरोकिएपछि सडक खुलाउन आवश्यक मेसिन तयारी अवस्थामा राखिएको छ।

कालीगण्डकी करिडोरको जैमिनी–८ बेलबगर, बागलुङ–बेनी सडकको हुलाके, तमोर करिडोरका विभिन्न स्थान तथा राप्ती राजमार्गको कपुरकोट–खारखोलामा पनि यातायात अवरुद्ध भएको छ।

कर्णाली राजमार्गअन्तर्गत गगने खोला, नाग्म–जुम्लाको राँका, बाङ्गेसिमल–दहीखोला र हारे आसपासमा पहिरो तथा ढुङ्गा खसेका छन्। अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायबाट मेसिन तथा प्राविधिक टोली परिचालन गरिएको छ।

नदीमा जलसतह बढ्दो

वर्षासँगै नदी तथा खोलामा जलसतह बढेपछि बाढी र डुबानको जोखिमसमेत बढेको छ। नारायणी नदीको देवघाट केन्द्रमा जलसतह खतरा तह नजिक पुगेर बढ्दो क्रममा रहेकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

नेपाल प्रहरीका अनुसार तनहुँको देवघाट र बागलुङको दरमखोला वामीटक्सारमा जलसतह सतर्कता तह पार गरेको छ। बाँकेको उदारापुरस्थित किरण नाला खोलामा पनि जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ।

सङ्खुवासभाको अरुण नदीस्थित सिम्ले केन्द्रमा यसअघि नै जलसतह खतरा तह पार गरेपछि तटीय तथा होचा भूभागका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ।

हावाहुरीसहित भारी वर्षाको सम्भावना

भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले शनिबार राति मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा ठूलो हावा चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार मधेश प्रदेशदेखि सुदूरपश्चिमसम्मका तराई जिल्ला तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी जिल्लामा हावाहुरीसहित उच्च वर्षाको सम्भावना छ।

आइतबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि ठूलो हावा चल्न सक्ने पूर्वानुमान गरिएको छ। मौसमविद् दाहालका अनुसार न्यूनचापीय प्रणालीको प्रभावले हावाहुरीसँगै वर्षा हुने सम्भावना रहे पनि सोमबारदेखि मौसम क्रमशः सुधार हुँदै जाने देखिएको छ।

हावाहुरीका समयमा झ्यालढोका बन्द गरी सुरक्षित स्थानमा बस्न तथा कमजोर संरचना, अग्ला रुख, बिजुलीका खम्बा र तारमुनि नबस्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

वर्षाका कारण नदी तथा खोलाको जलसतह बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई नदीको बहाव र स्थानीय अवस्थाबारे निरन्तर जानकारी लिएर सतर्क रहनसमेत आग्रह गरिएको छ।

सम्बन्धित समाचार