काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्। १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएका प्रधानमन्त्री शाह शनिबार अपराह्न काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
प्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र पर्यटनमन्त्री गनेश पौडेल विमानस्थल पुगेका थिए।
प्रधानमन्त्री शाह गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका थिए। न्युयोर्क पुगेपछि उनले नेपाली समयअनुसार असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए।
त्यसपछि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालको पछिल्लो बाढीपहिरो, जलवायु परिवर्तन र त्यसबाट सिर्जित मानवीय तथा विकास संकटका विषय विश्व समुदायसमक्ष प्रस्तुत गरेका थिए।

उनले हिमालय क्षेत्रमा देखिएको जलवायु संकटप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै नेपालका लागि जलवायु न्यायको विषय उठाएका थिए।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा समेत सहभागिता जनाएका थिए।
महासभामा नेपालको प्रतिनिधित्व तथा विभिन्न भेटवार्ता र कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह न्युयोर्कबाट कतारको दोहा हुँदै शनिबार काठमाडौँ फर्किएका हुन्।
