बारा, असोज १० । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२, तीन नम्बर पुलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार शुक्रबार राति करिब ११ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना.६ ख ३६४४ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको बा.प्र.०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक मोरङका करिब ३५ वर्षीय योगेन्द्र मगरलाई उपचारका लागि नारायणी अस्पताल, वीरगञ्ज लगिएको थियो। उनको उपचारका क्रममा राति ११ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले ट्रक र चालक बारा जितपुरसिमरा–२१ का करिब ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।