यूएन महासभा सहभागिता सकेर बालेन आज स्वदेश फर्किंदै
1k
Shares
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज नेपाल फर्किंदै छन्। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ गते अमेरिकाको न्युयोर्क गएका थिए।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा नेपालले भोगिरहेको जलवायु परिवर्तनको असर, विपद्बाट भएको क्षति तथा जलवायु न्याय र अन्तर्राष्ट्रिय सहयोगका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको थियो। महासभाका विभिन्न उच्चस्तरीय छलफल तथा साइड इभेन्टमा नेपालको सहभागिता जनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोका विषय प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको थियो।
प्रधानमन्त्रीको अनुपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका थिए। प्रधानमन्त्री शाहको यो भ्रमण प्रधानमन्त्री बनेपछिको पहिलो विदेश भ्रमणसमेत हो।
सरकारले यस भ्रमणलाई नेपालका राष्ट्रिय हित, जलवायु संकट, विपद्बाट भएको क्षति र अन्तर्राष्ट्रिय सहयोगका विषय विश्व समुदायसमक्ष राख्ने अवसरका रूपमा अघि बढाएको थियो। प्रधानमन्त्री शाह आज स्वदेश फर्किएपछि सरकारका नियमित कामकारबाही पुनः उनको नेतृत्वमा सञ्चालन हुनेछन्।