खानेतेलमा गुणस्तरदेखि लेबलिङसम्म कडाइ गर्ने तयारी

1.5k Shares

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले खानेतेलको गुणस्तर, प्याकेजिङ र लेबलिङलाई थप व्यवस्थित तथा उपभोक्तामैत्री बनाउन नयाँ मापदण्ड तयार गर्ने प्रक्रिया अघि बढाएको छ।

विभागले बजारमा बिक्री वितरण हुने खानेतेलको गुणस्तर सुनिश्चित गर्न विद्यमान मापदण्डलाई समयअनुकूल बनाउने तयारी गरेको हो। प्रस्तावित मापदण्डमा खानेतेलको गुणस्तर परीक्षणसँगै उत्पादन, प्याकेजिङ र लेबलिङसम्बन्धी विषयलाई समेत समेटिनेछ।

विभागका अनुसार उपभोक्ताले बजारमा उपलब्ध खानेतेलको गुणस्तर र त्यसमा प्रयोग भएका सामग्रीबारे स्पष्ट जानकारी पाउन सक्ने गरी लेबलिङ व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा पनि काम भइरहेको छ।

खानेतेलको उत्पादन तथा बिक्री वितरणमा गुणस्तर कायम गर्न मापदण्डको प्रभावकारी कार्यान्वयनलाई महत्त्व दिइएको छ। नयाँ मापदण्ड कार्यान्वयनमा आएपछि उत्पादन तथा बजारमा रहेका खानेतेलको गुणस्तर परीक्षण र अनुगमनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विभागको अपेक्षा छ।

खानेतेल दैनिक उपभोग्य वस्तु भएकाले यसको गुणस्तर, प्याकेजिङ र लेबलिङमा स्पष्टता हुनु उपभोक्ता स्वास्थ्य तथा खाद्य सुरक्षाका दृष्टिले महत्वपूर्ण मानिन्छ। विभागले सरोकारवालासँगको छलफल तथा आवश्यक प्राविधिक प्रक्रियापछि नयाँ मापदण्डलाई अन्तिम रूप दिने तयारी गरेको छ।

सम्बन्धित समाचार