काठमाडौं उपत्यकासहित पूर्वी नेपालमा आजदेखि वर्षाको मात्रा घट्ने भए पनि पश्चिमी भूभागमा भने आज र भोलिसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली पश्चिमतर्फ सर्दै गएपछि पूर्वी क्षेत्रमा वर्षा कम हुँदै गएको हो। काठमाडौं उपत्यकामा केही समय बादल लाग्ने तथा हल्का वर्षा हुन सक्ने भए पनि अघिल्ला दिनजस्तो लगातार ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद् रोजन लामिछानेले बताएका छन्।
पश्चिमतर्फ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। पछिल्लो १२ घण्टामा पाल्पाको अर्चलेमा २४७ मिलिमिटर तथा गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा मापन भएको छ।
लगातारको वर्षाका कारण पश्चिमी क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिमसमेत रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम तथा विपद् व्यवस्थापन निकायले आग्रह गरेका छन्।
आइतबारदेखि काठमाडौंसहित पूर्वी क्षेत्रमा मौसममा थप सुधार आउने र सोमबारदेखि देशभर वर्षाको गतिविधि क्रमशः घट्ने पूर्वानुमान गरिएको छ।