काठमाडौँ । देशभर आज अधिकांश भू–भागमा बदली रही विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका अधिकांश स्थानमा वर्षाको सम्भावना छ। त्यस्तै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा पनि मेघगर्जन तथा चट्याङ्सहित मध्यम वर्षा र हिमपात हुनसक्नेछ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका अधिकांश स्थानमा तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा समेत मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ। कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ। यसैगरी मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्नसक्ने पूर्वानुमान गरिएको छ।
राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश भू–भागमा बदली रहनेछ। यी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ।
कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा समेत वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तराई क्षेत्रमा पनि राति वर्षा हुने सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका अधिकांश तराई भू–भाग तथा बागमतीका धेरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ। मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा वर्षाको सम्भावना छ।
रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा समेत हुनसक्ने पूर्वानुमान छ।
वर्षा, हिमपात, चट्याङ्, हावाहुरी तथा भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।