धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पुनर्लेखनको तयारी गरिरहेका बेला सांसदहरूले अघि सारेका योजनालाई पुरानै बजेट सिलिङका आधारमा समेट्ने तयारी गरेको छ।
प्रदेशको आर्थिक मामिला मन्त्रालयले बजेट पुनर्लेखनका लागि विषयगत मन्त्रालयलाई मार्गदर्शन पठाए पनि यसपटक नयाँ बजेट सिलिङ भने तोकेको छैन। मन्त्रालयहरूलाई अघिल्लो बजेट तर्जुमाका क्रममा तयार पारिएका आधार तथा मार्गदर्शनअनुसार आयोजना र कार्यक्रम छनोट गर्न भनिएको छ।
स्रोतका अनुसार यसअघि सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न योजना बजेटमा समेट्न दबाब दिँदै आएका थिए। अघिल्लो बजेटमा समेत केही सांसदका योजनामा ठूलो रकम विनियोजन गरिएको थियो। अहिले बजेट पुनर्लेखन गर्दा ती योजनालाई निरन्तरता दिने विषयमा समेत छलफल भइरहेको छ।
सुदूरपश्चिम प्रदेशको अघिल्लो सरकारले चालु आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो। तर बजेट पारित हुन नसकेपछि प्रदेश सरकार साउन १ गतेदेखि बजेटविहीन अवस्थामा छ। अहिले प्रदेश सरकार बजेटको आकार र कार्यक्रम पुनः निर्धारण गर्ने प्रक्रियामा रहेको छ।
प्रदेशको वास्तविक आम्दानी करिब ३३ अर्ब १३ करोड रुपैयाँ हाराहारीमा रहेको बताइएको छ। त्यसैले सरकारमाथि वास्तविक स्रोतअनुसार बजेटको आकार निर्धारण गर्ने वा अघिल्लो सरकारकै बजेट आकारलाई निरन्तरता दिने भन्ने विषयमा चुनौती देखिएको छ।
यसअघि प्रदेश नीति तथा योजना आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि २२ अर्ब ६३ करोड ६७ लाख ६६ हजार रुपैयाँको बजेट सिलिङ निर्धारण गरेको थियो। अहिले मन्त्रालयहरूले आयोजना तथा कार्यक्रम छनोट गरी प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली (पीएलएमबीआईएस) मा प्रविष्ट गर्ने काम अघि बढाउने तयारी गरेका छन्।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गोकर्ण भट्टले बजेट निर्माण प्रक्रिया अघि बढिरहेको र मन्त्रालयगत कार्यक्रम तथा आयोजना प्रणालीमा प्रविष्ट गर्ने काम पूरा भएपछि केही दिनमै प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तयारी रहेको बताएका छन्।
यसअघि प्रदेश सरकारले असोज १५ गतेभित्र बजेट ल्याउने तयारी गरेको र सांसदहरूलाई असोज ८ गतेभित्र योजना बुझाउन आग्रह गरेको थियो।