न्यूयोर्क । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोलाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोसी–त्रिशूली क्षेत्रमा आएको विपद्लाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै यो नेपालको मात्र स्थानीय त्रासदी नभएको बताए। उनले हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिम सम्पूर्ण मानवताका लागि साझा चुनौती बनिसकेको उल्लेख गरे।
सम्बोधनका क्रममा शाहले नेपाल विकास, शान्ति र युवा राष्ट्रका आशाबारे विश्व समुदायसँग कुरा गर्न चाहेको भए पनि केही साताअघिको विनाशकारी विपद्ले देशलाई मृत्यु र विनाशबारे बोल्न बाध्य बनाएको बताए।
केही मिनेटमै पुल, सडक, विद्यालय र हजारौँ मानिसको जीविकोपार्जन बगाएको घटनाले विश्वलाई गम्भीर रूपमा झस्काउनुपर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले करिब तीन वर्षअघि संयुक्त राष्ट्रसंघका महासचिवले सगरमाथाको छायाबाट जलवायु संकटबारे दिएको चेतावनी नेपाल र विश्वका वैज्ञानिकले गम्भीरतापूर्वक सुने पनि अन्तर्राष्ट्रिय राजनीतिक नेतृत्वले त्यसलाई आवश्यक गति र स्तरमा ठोस कार्यमा रूपान्तरण गर्न नसकेको बताए।
उनले जलवायु परिवर्तनका कारण पर्माफ्रस्ट पग्लिने, हिमनदी कमजोर हुने तथा चट्टान र पहिरोको जोखिम बढ्ने क्रम तीव्र बन्दै गएको उल्लेख गरे। यसले हिमालयको पारिस्थितिक प्रणालीलाई अस्थिर बनाउँदै लगेको भन्दै उनले यस्तो संकटलाई नेपालको मात्र समस्या भनेर हेर्न नहुनेमा जोड दिए।
शाहले हिमालयमा देखिएका वातावरणीय परिवर्तनको प्रभाव सीमापारसम्म पुग्ने भएकाले विश्व समुदायले यसलाई साझा चुनौतीका रूपमा लिएर तत्काल र प्रभावकारी कदम चाल्नुपर्ने बताए।
उनको सम्बोधनमा नेपालले भोगिरहेको विपद्लाई जलवायु परिवर्तनका व्यापक असर र विश्वव्यापी जिम्मेवारीसँग जोड्दै जलवायु संकट न्यूनीकरण तथा प्रभावित मुलुकको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको विषय प्रमुख रूपमा उठेको थियो।