बाढी–पहिरोको जोखिम बढेपछि राज्यका सबै निकाय परिचालन, उद्धारदेखि आपूर्तिसम्म तयारी

981 Shares

काठमाडौं । देशभर भइरहेको वर्षाका कारण हुनसक्ने बाढी, पहिरो तथा अन्य विपद्बाट नागरिकको धनजन जोगाउन सरकारले उच्च सतर्कताका साथ पूर्वतयारी तथा प्रतिकार्यका लागि राज्यका सबै संयन्त्र परिचालन गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि आवश्यक सावधानी अपनाउन दिएको निर्देशनअनुसार सम्बन्धित मन्त्रालय तथा मातहतका निकाय पूर्वतयारीमा जुटेका हुन् ।

कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बन्धित मन्त्रीहरूसँग विपद् पूर्वतयारीबारे छलफल गर्दै मानवीय तथा भौतिक क्षति रोक्न सबै मन्त्रालय र मातहतका निकायलाई उच्च सतर्कताका साथ परिचालन गरिएको बताएका छन् । उनले विपद्पछिको प्रतिकार्यमा स्थानीय तहले आफ्ना स्रोतसाधन प्रयोग गर्न कुनै कञ्जुस्याइँ नगर्न आग्रह गरेका छन् ।

७७ जिल्लामा सुरक्षा संयन्त्र तयारी अवस्थामा

गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै जिल्ला सुरक्षा समितिको बैठकमार्फत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखेको छ ।

नदी तटीय क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सचेत गराउने, जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा अस्पताल, एम्बुलेन्स र स्वास्थ्य केन्द्रलाई आपत्कालीन सेवाका लागि तयारी अवस्थामा राख्ने काम भइरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकलाई सुरक्षित स्थानमा सार्न र आवश्यक सहजीकरण गर्न होटल व्यवसायीलाई आग्रह गरेको छ । मौसमअनुसार आन्तरिक उडानको सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न तथा उद्धार उडानलाई प्राथमिकता दिन पनि निर्देशन दिइएको छ ।

परीक्षा स्थगितदेखि विद्यालयलाई आश्रयस्थलसम्म

शिक्षा तथा खेलकुद मन्त्रालयले स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न सकिने व्यवस्था गरेको छ । ९ देखि ११ असोजसम्मका तोकिएका परीक्षा स्थगित गर्न तथा सुरक्षित विद्यालय भवनलाई आवश्यकताअनुसार अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सहजीकरण गरिएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रमार्फत अस्पतालमा जनशक्ति, औषधि तथा एम्बुलेन्स सेवा २४ सै घण्टा तयारी अवस्थामा राखेको जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था कम्पनी र नेपाल आयल निगमलाई खाद्यान्न तथा इन्धनको मौज्दात र नियमित वितरण सुनिश्चित गर्न निर्देशन दिएको छ । कृत्रिम अभाव र कालोबजारी रोक्न बजार अनुगमनसमेत तीव्र पारिएको छ ।

बाढीको पूर्वसूचनादेखि सडकमा भारी उपकरणसम्म

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रमुख नदीमा पाँच दिन र साना नदीमा ४८ घण्टा अगावै बाढीको पूर्वसूचना पाउने व्यवस्था मिलाएको छ । नेपाल विद्युत् प्राधिकरणले अवरुद्ध विद्युत् सेवा तत्काल सुचारु गर्न कर्मचारीलाई तयारी अवस्थामा राखेको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मनसुनजन्य जोखिमबाट बालीनाली तथा कृषि उपज जोगाउन दैनिक विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरिरहेको छ ।

पूर्वाधार विकास मन्त्रालयले डोजर, एक्स्काभेटरलगायत भारी उपकरण जोखिमयुक्त सडकखण्ड नजिक परिचालन गरी चौबिसै घण्टा तयारी अवस्थामा राखेको छ । जोखिमपूर्ण सडकमा रातिको समयमा सञ्चालन रोक्ने व्यवस्था पनि गरिएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ असोजसम्म ७५३ वटै स्थानीय तहका कर्मचारीलाई बिदामा नबस्न र प्रमुख प्रशासकीय अधिकृतलाई नियमित सम्पर्कमा रहन निर्देशन दिएको छ ।

टेलिकमबाट पूर्वसूचना

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत नेपाल टेलिकमले बाढीको जोखिम भएका क्षेत्रमा नियमित सन्देश पठाउनुका साथै ११५५ मा डायल गरेर मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना लिन सकिने व्यवस्था मिलाएको जनाएको छ ।

सरकारले जोखिमयुक्त क्षेत्रका नागरिकलाई मौसम तथा बाढीसम्बन्धी सूचनालाई गम्भीरतापूर्वक लिन, आवश्यकताअनुसार सुरक्षित स्थानमा जान र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचार