काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा पनि कम भए पनि जलवायु परिवर्तनको असाध्यै ठूलो मूल्य नेपालले चुकाइरहेको बताएका छन्।
राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटप्रति विश्व समुदायको ध्यानाकर्षण गराए। उनले नेपालका लागि जलवायु महाविपत्ति मानवीय संकटमा मात्र सीमित नभई ‘विकासको आपत्काल’ समेत बनेको स्पष्ट पारे।
जलवायु परिवर्तनका कारण नेपालमा बाढी, पहिरो, हिमताल विस्फोट, हिमनदी पग्लिने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै उनले यसको प्रत्यक्ष असर विकास निर्माण, पूर्वाधार, अर्थतन्त्र र नागरिकको जीवनमा परिरहेको बताए।
प्रधानमन्त्री शाहले जलवायु संकटको जिम्मेवारी सबै देशमा समान रूपमा नरहेको धारणा राख्दै ऐतिहासिक रूपमा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले बढी जिम्मेवारी लिनुपर्ने बताए।
उनले जलवायु न्यायलाई अन्तर्राष्ट्रिय प्रतिबद्धता र दस्ताबेजमा मात्र सीमित नगरी व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
‘जलवायु न्याय संयुक्त राष्ट्रसङ्घको दस्ताबेजमा मात्र सीमित एउटा सुन्दर वाक्यांश बन्नु हुँदैन,’ उनले भने, ‘हाम्रा नागरिकले निरन्तर आफ्नो विगतको पुनर्निर्माण गरिरहनुको सट्टा अब आफ्नो भविष्य निर्माण गर्न पाउनुपर्छ।’
प्रधानमन्त्री शाहको सम्बोधनले जलवायु परिवर्तनबाट न्यून योगदान गर्ने तर उच्च जोखिममा रहेका नेपालजस्ता मुलुकले भोगिरहेको क्षति, जिम्मेवारी र न्यायको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएको छ।