नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको बेत्रावतीतर्फको सडक सम्पर्क पुनःस्थापित गर्न अस्थायी ट्रयाक खोल्ने काम तीव्र गतिमा भइरहेको छ। सडक विभागले बाढीले क्षति पुर्याएको पुरानो सडकको विकल्पका रूपमा नयाँ ट्रयाक निर्माण अघि बढाएको हो।
बाढीले सडकमा ठूलो मात्रामा लेदो, गेग्रान तथा ढुंगा थुपारेपछि पुरानै सडकबाट तत्काल यातायात सञ्चालन गर्न कठिन भएको थियो। त्यसपछि विदुर नगरपालिका–१० को रातामाटे क्षेत्र हुँदै खेतको बाटो प्रयोग गरेर वैकल्पिक अस्थायी ट्रयाक खोल्ने काम अघि बढाइएको हो।
सडक विभागका अनुसार गल्छीदेखि बेत्रावतीसम्मको करिब ३५ किलोमिटर सडकखण्डमध्ये अधिकांश भाग सञ्चालनमा ल्याउने काम भइसकेको छ। बाँकी रहेको कठिन भूभागमा समेत ट्रयाक खोल्ने तथा सडक जोड्ने काम जारी छ।
बेत्रावतीमा सडक सम्पर्क स्थापित भएपछि रसुवातर्फको आवागमन सहज हुने अपेक्षा गरिएको छ। बाढीका कारण क्षतिग्रस्त पुल तथा सडकलाई अस्थायी रूपमा सञ्चालनमा ल्याउन विभिन्न स्थानमा बेलीब्रिज निर्माणको कामसमेत अघि बढाइएको छ। बेत्रावतीमा बेलीब्रिज राख्न फाउन्डेसन निर्माणको काम सुरु भइसकेको जनाइएको छ।
गत भदौ १० गते आएको बाढीले धादिङ, नुवाकोट र रसुवामा सडक तथा पुलमा ठूलो क्षति पुर्याएको थियो। त्यसपछि सडक विभाग र नेपाली सेनाले तत्काल यातायात सम्पर्क पुनःस्थापित गर्न अस्थायी ट्रयाक, डाइभर्सन र बेलीब्रिज निर्माणलाई प्राथमिकता दिँदै आएका छन्।