न्युयोर्क । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै अमेरिकासँगको दबाब र धम्कीका कारण इरान आफ्नो अडानबाट पछि नहट्ने सन्देश दिएका छन्। अमेरिकासँग युद्धको अवस्थामा रहेको इरानका राष्ट्रपतिले अमेरिकाकै भूमिमा रहेको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मञ्चबाट यस्तो धारणा राखेका हुन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै पेजेस्कियानले इरान दबाब, प्रतिबन्ध र धम्कीका कारण झुक्ने देश नभएको बताए। उनले इरानी जनता युद्ध र आतंकवादको पीडित भएको दाबी गर्दै आफ्नो देशले स्वतन्त्र रूपमा बाँच्न चाहेको उल्लेख गरे।
पेजेस्कियानले सैन्य शक्तिको प्रयोगबाट अन्तर्राष्ट्रिय समस्या समाधान नहुने बताउँदै वार्ता, कूटनीति र संवादका लागि इरान तयार रहेको धारणा राखे। उनका अनुसार इरान आफ्नो आणविक प्रविधिलाई विकास र प्रगतिका लागि प्रयोग गर्न चाहन्छ, आणविक हतियार निर्माणका लागि होइन।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिको सन्दर्भमा इरानले धम्की वा बल प्रयोगको भाषा स्वीकार नगर्ने बताए। ट्रम्पले यसअघि इरानसँग सम्झौता हुन नसके गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए।
सम्बोधनका क्रममा पेजेस्कियानले होर्मुज जलडमरूमध्यको विषय पनि उठाए। उनले इरानले आफ्नो क्षेत्रीय अधिकारलाई कसैबाट कमजोर हुन नदिने बताउँदै क्षेत्रीय सुरक्षाका लागि सबै देशबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।
पेजेस्कियानको सम्बोधनका क्रममा संयुक्त राष्ट्रसंघको सभाकक्षबाट अमेरिकी प्रतिनिधिमण्डल बाहिरिएको थियो। यस घटनाले अमेरिका–इरानबीच जारी तनावलाई थप उजागर गरेको छ।