भरत दाहाललाई रिहा गर्न माग, सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ

841 Shares

काठमाडौं । राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहाललाई रिहा गर्न माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ सुरु भएको हो।

यसअघि सर्वोच्च अदालतले दाहाललाई पक्राउ गर्नुपर्ने आधार र कारणसहित लिखित जवाफ पेस गर्न प्रहरीका नाममा आदेश जारी गरेको थियो। साथै आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र अनुसन्धानसम्बन्धी मिसिल र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। आदेशपछि दाहाललाई बिहीबार अदालतमा उपस्थित गराइएको हो।

दाहाललाई प्रहरीले आइतबार मोरङको बेलबारीबाट पक्राउ गरेको थियो। प्रहरीले उनलाई आफ्नो युट्युब च्यानलमार्फत भूराजनीतिक तथा उच्च राजनीतिक व्यक्तिहरूबारे भ्रामक प्रचार गरेको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ।

दाहालको तर्फबाट उनकी छोरी डेनिकाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन्। रिटमा भएको सुनुवाइपछि अदालतले दाहालको पक्राउको आधार, अनुसन्धानको अवस्था तथा हिरासतमा राख्नुपर्ने कारणबारे सरकारी पक्षको जवाफ मागेको थियो।

यसअघि नेकपा मालेले समेत दाहाललाई तत्काल रिहा गर्न माग गरेको थियो। पार्टीले राजनीतिक विचार तथा अभिव्यक्तिका आधारमा पक्राउ गर्न नहुने भन्दै आरोप स्पष्ट गरी निष्पक्ष कानुनी प्रक्रियाबाट अनुसन्धान गर्नुपर्ने धारणा सार्वजनिक गरेको थियो।

 
 
 
 
 
 
 
 
सम्बन्धित समाचार