काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर रूपमा १५औँ महाधिवेशन गर्ने तयारीलाई तीव्र बनाउँदै ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। महाधिवेशनको तयारीका लागि जिल्ला–जिल्लामा प्रतिनिधि खटाइएको हो।
देउवा समूहले यसअघि नै समानान्तर महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। उक्त समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशन आयोजक समितिको संयोजकमा पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई जिम्मेवारी दिइएको छ।
समूहले अधिवेशनको तयारी तथा संगठनात्मक गतिविधि अघि बढाउन विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरेको हो। प्रतिनिधिहरूले सम्बन्धित जिल्लामा अधिवेशनका लागि आवश्यक समन्वय तथा तयारी गर्नेछन्।
यसअघि देउवा समूहले ५५ जिल्लामा संयोजकसमेत तोकेको थियो। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लामा संयोजक तोकिएको थियो भने त्यतिबेला मधेस प्रदेशका जिल्लामा संयोजक तोकिएको थिएन।
उता नेपाली कांग्रेसभित्र संस्थापन पक्ष र देउवा समूहले फरक–फरक मितिमा महाधिवेशन गर्ने तयारी अघि बढाएपछि पार्टीको अधिवेशन प्रक्रिया दुई धारमा अघि बढेको छ। संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ भने देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको छ।