मलेखु–मुग्लिन सडकखण्डमा निरन्तर वर्षा, सतर्कता अपनाउन र राति यात्रा नगर्न आग्रह

939 Shares

धादिङ । पृथ्वी राजमार्गअन्तर्गतको मलेखु–मुग्लिन सडकखण्डमा निरन्तर वर्षा भइरहेको भन्दै यात्रु तथा सवारी चालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षाका कारण सडकमा पहिरो तथा अन्य अवरोध आउन सक्ने जोखिम रहेकाले सम्भव भएसम्म रातिको समयमा यात्रा नगर्न आग्रह गरिएको हो। 

लगातारको वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा सडक चिप्लो हुने, पहिरो खस्ने तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने जोखिम रहेको छ। यसले सवारी आवागमन प्रभावित हुन सक्ने भएकाले यात्रुले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।

मौसम पूर्वानुमानअनुसार आगामी दिनमा पनि विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने जनाइएको छ। मौसमविद्हरूले समेत सम्भावित जोखिमलाई ध्यानमा राख्दै लामो दूरीको यात्रा सकेसम्म स्थगित गर्न र रातिको यात्रा नगर्न सुझाव दिएका छन्।

मलेखु–मुग्लिन सडकखण्डमा वर्षायाममा पहिरोको जोखिम रहने स्थानहरू पहिचान गरी सडक विभागले आवश्यक उपकरण तथा जनशक्ति तयारी अवस्थामा राख्दै आएको छ। अवरोध आए तत्काल सडक खुलाउने गरी विभिन्न स्थानमा प्राविधिक टोली परिचालन गर्ने व्यवस्था गरिएको छ।

यात्राका क्रममा नदी, खोला तथा पहिरो सम्भावित क्षेत्र नजिक विशेष सावधानी अपनाउन, अनावश्यक रूपमा यात्रा नगर्न र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र गन्तव्यतर्फ लाग्न आग्रह गरिएको छ।

सम्बन्धित समाचार