देशका ६० भन्दा बढी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

960 Shares

काठमाडौँ । देशका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले ६० भन्दा बढी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। पछिल्लो मौसम अवस्थालाई आधार बनाएर विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जोखिमसम्बन्धी सूचना जारी गरेको हो।

वर्षाका कारण विशेषगरी साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले आकस्मिक बाढी तथा डुबानको जोखिम बढ्न सक्ने जनाइएको छ।

यसैबीच, देशका प्रमुख नदी तथा तिनका सहायक नदीमा हाल पानीको बहाव चेतावनी तहभन्दा तल रहेको भए पनि वर्षाको अवस्था हेरेर बहाव बढ्न सक्ने विभागले जनाएको छ।

आगामी केही दिनसम्म विभिन्न प्रदेशका साना नदी तथा खोलामा बहाव बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। विशेषगरी नदी तथा खोला आसपास यात्रा गर्दा र बसोबास गर्दा सावधानी अपनाउन तथा बाढीसम्बन्धी सूचना नियमित रूपमा हेर्न अनुरोध गरिएको छ।

 
 
 
सम्बन्धित समाचार