जोखिम अवधिभर काठमाडौँ उपत्यकाका करिडोरमा सवारी पार्किङ गर्न निषेध
974
Shares
काठमाडौँ । भारी वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढेपछि काठमाडौँ उपत्यकाका नदी करिडोर क्षेत्रमा जोखिम अवधिभर सवारीसाधन पार्किङ गर्न निषेध गरिएको छ।
सम्भावित विपद्का बेला नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने र करिडोर क्षेत्रमा रहेका सवारीसाधन बगाउने वा क्षति पुर्याउने जोखिमलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले यस्तो व्यवस्था गरेको हो।
उपत्यकाका नदी किनार तथा करिडोरमा जथाभावी सवारी पार्किङ गर्दा आपत्कालीन अवस्थामा उद्धार तथा आवतजावतमा समेत समस्या पर्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका चालक तथा सवारीधनीलाई सचेत गराइएको छ।
लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा सडक अवरोधको जोखिम बढिरहेको अवस्थामा काठमाडौँ उपत्यकामा समेत सम्भावित जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाइएको हो। यसअघि पनि बाढी तथा पहिरोको जोखिम भएका विभिन्न सडकखण्डमा सवारी सञ्चालनमा समयगत प्रतिबन्ध लगाइएको थियो।
प्रहरीले जोखिमयुक्त क्षेत्रमा सवारीसाधन पार्किङ नगर्न तथा मौसम र सडकको अवस्था हेरेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।