काठमाडौँ । जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको २०औँ एशियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानले विजयी सुरुआत गरेको छ।
समूह ‘ए’को उद्घाटन खेलमा अफगानिस्तानले घरेलु टोली जापानलाई ४८ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।
टस जितेर जापानले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो।
अफगानिस्तानका लागि वसिन अकरमले २९ बलमा ३४ रन बनाए। कप्तान दरविस रसुलीले २७ बलमा २९ रन जोड्दा मोहम्मद इसहाकले २५ तथा करीम जनतले २१ रनको योगदान दिए।
जापानका बलर शोमा स्लेटर र इब्राहिम ताकाहाशीले समान दुई–दुई विकेट लिए। १३० रनको लक्ष्य पछ्याएको जापान भने अफगानिस्तानको कसिलो बलिङसामु १९.३ ओभरमा ८१ रनमै अलआउट भयो।
घरेलु टोलीका रेओ साकुरालो–थॉमसले सर्वाधिक २३ रन बनाए। बेन्जामिन इटो–डेभिसले १७ रन जोड्दा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
अफगानिस्तानका स्पिनर अरब गुलले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा केवल ८ रन खर्चिएर चार विकेट लिए। नगेयालिया खरोटेले १९ रन खर्चेर तीन विकेट लिए भने अब्दुल्लाह अहमदजाईले दुई विकेट हात पारे।
यस जितसँगै अफगानिस्तानले समूह ‘ए’मा महत्वपूर्ण दुई अंक जोडेको छ। समूहमा अफगानिस्तान र जापानसँगै नेपाल पनि रहेको छ।
नेपालले एशियन गेम्समा आफ्नो पहिलो खेल शुक्रबार अफगानिस्तानविरुद्ध खेल्नेछ। नेपाल र अफगानिस्तानबीचको खेल शुक्रबार बिहान १०ः४५ बजे सुरु हुनेछ।
नेपालका लागि यो खेल समूह चरणमा महत्वपूर्ण हुनेछ, किनकि पहिलो खेलमै बलियो अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।