बंगालको खाडीको न्यूनचापीय प्रणालीको असर : ११ जिल्लामा रातो संकेत

960 Shares

काठमाडौं । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीको प्रभावले नेपालका विभिन्न जिल्लामा भारीदेखि अति भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि १० गतेसम्म विभिन्न जिल्लाका लागि जोखिम संकेत जारी गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार गहिरो न्यूनचापीय प्रणाली आगामी २४ घण्टापछि क्रमशः कमजोर हुँदै जाने सम्भावना भए पनि त्यसको प्रभावका कारण नेपालका केही स्थानमा वर्षाको मात्रा र क्षेत्र बढ्न सक्नेछ। गएरातिदेखि देशका धेरै स्थानमा वर्षा भइरहेको र बिहीबार वर्षा थप सक्रिय हुन सक्ने उनले बताए।

असोज ९ मा हिमाली जिल्लामा उच्च जोखिम

महाशाखाले सार्वजनिक गरेको जोखिम नक्साअनुसार असोज ८ गते कोशी, बागमती र गण्डकीका साथै लुम्बिनीका पूर्वी पहाडी क्षेत्रमा सुन्तला संकेत दिइएको छ। यी क्षेत्रमा सम्भावित मौसमी जोखिमका कारण सतर्क रहन आग्रह गरिएको छ।

असोज ९ गते भने जोखिम अझ बढ्ने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रका ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, मनाङ र मुस्ताङलाई रातो संकेत दिइएको छ।

त्यसैगरी झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सालाई पहेँलो संकेत दिइएको छ। अन्य धेरै जिल्लामा सुन्तला संकेतमार्फत सतर्क रहन भनिएको छ।

सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडीलाई पनि पछिल्लो अद्यावधिकमा पहेँलो संकेत दिइएको छ।

असोज १० मा कर्णाली र सुदूरपश्चिमतर्फ जोखिम

असोज १० गते कर्णाली र सुदूरपश्चिममा तुलनात्मक रूपमा बढी जोखिम रहने सम्भावना छ। डोल्पा, जाजरकोट, जुम्ला, मुगु, कालिकोट, बाजुरा, बझाङ, हुम्ला र दार्चुलालाई रातो संकेत दिइएको छ।

लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा र बैतडीमा सुन्तला संकेत दिइएको छ।

असोज ११ गतेदेखि भने वर्षाको क्रम केही घट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस दिन बागमतीभन्दा पश्चिमतर्फका जिल्लामा पहेँलो संकेत दिइएको छ भने कोशी, मधेश र बागमतीका अधिकांश जिल्लामा मौसम तुलनात्मक रूपमा सामान्य रहने पूर्वानुमान छ।

बाढी, पहिरो र गेग्रान बहावको जोखिम

महाशाखाका अनुसार सम्भावित भारी वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम छ। शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने तथा ठूला–साना नदी, खोला र नालामा पानीको सतह बढ्न सक्ने चेतावनी दिइएको छ।

वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य र नदी आसपासका निर्माण कार्यसमेत प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ।

मौसमविद् ढकालले विशेषगरी बाढी तथा पहिरोको जोखिम भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन र सकेसम्म रातिको यात्रा नगर्न आग्रह गरेका छन्।

हिमाली क्षेत्रमा हिमपातको सम्भावना

न्यूनचापीय प्रणालीको प्रभावले उच्च हिमाली क्षेत्रमा भारीसम्म हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ। महाशाखाले पर्वतारोही तथा हिमाली क्षेत्रमा रहेका अन्य व्यक्तिलाई मौसमको अवस्था बुझेर मात्र गतिविधि गर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बंगालको खाडीमा विकसित प्रणाली भारतको आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा क्षेत्र हुँदै उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा कमजोर हुने सम्भावना रहेको भए पनि नेपालमा त्यसको अवशिष्ट प्रभाव केही दिन कायम रहने महाशाखाले जनाएको छ।

महाशाखाले मौसम प्रणालीको निरन्तर अनुगमन भइरहेको भन्दै मौसममा हुने परिवर्तनअनुसार थप सूचना तथा चेतावनी जारी गरिने जनाएको छ। सर्वसाधारणलाई विभागबाट जारी हुने मौसम तथा बाढीसम्बन्धी सूचना नियमित रूपमा हेर्न आग्रह गरिएको छ।

सम्बन्धित समाचार