काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् रूपमा सुरु भएको अवसरमा वसन्तपुरमा परम्परागत देवी नाच प्रदर्शन गरिएको छ। हनुमानढोका दरबार क्षेत्रस्थित वसन्तपुरमा इन्द्रजात्राको पहिलो दिन देवी नाच प्रस्तुत गरिएको हो।
इन्द्रजात्राको औपचारिक सुरुवातसँगै ३६ हात लामो काठको यसिं (इन्द्रध्वज) ठड्याउने परम्परा छ। यस अवसरमा देवी–देवता तथा दानवका विभिन्न स्वरूपका मुकुन्डो लगाएका कलाकारहरूले परम्परागत नृत्य प्रस्तुत गरेका थिए।
देवी नाचका क्रममा धिमे र भुस्या बाजाको तालले वसन्तपुर क्षेत्रको वातावरण थप उल्लासमय बनेको थियो। नाच हेर्न स्थानीयवासीसँगै स्वदेशी तथा विदेशी पर्यटकको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
वसन्तपुरस्थित शिव–पार्वती मन्दिरको डबलीमा प्रस्तुत गरिने देवी नाचलाई इन्द्रजात्राको प्रमुख सांस्कृतिक आकर्षणमध्ये एक मानिन्छ। इन्द्रजात्राका क्रममा विभिन्न देवीदेवताको नाच, रथयात्रा तथा धार्मिक विधिहरू सञ्चालन हुने गर्छन्।
यस वर्ष इन्द्रजात्राको मुख्य रथयात्रा असोज ९ गतेदेखि सुरु हुने कार्यक्रम रहेको छ। श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथलाई काठमाडौंका विभिन्न टोलमा परिक्रमा गराइने परम्परा छ।
इन्द्रजात्रा अवधिभर देवी नाचसँगै लाखे, पुलुकिसी, महाकाली, दशअवतारलगायतका सांस्कृतिक प्रदर्शनसमेत गरिने भएकाले काठमाडौं उपत्यकामा पर्वको रौनक बढेको छ।