बाढीबाट जलविद्युत् क्षेत्रमा ३ खर्ब ९० अर्ब रुपैयाँको क्षति, ८ सयभन्दा बढी बेपत्ता

1k Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बाढी तथा पहिरोका कारण जलविद्युत् तथा ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको जानकारी संसद्लाई गराएका छन्। उनका अनुसार बाढीबाट जलविद्युत् क्षेत्रमा मात्रै करिब ३ खर्ब ९० अर्ब ६२ करोड रुपैयाँ बराबरको क्षति तथा पुनर्निर्माण आवश्यकता देखिएको छ। 

मन्त्री श्रेष्ठले संसद्मा दिएको विवरणअनुसार बाढीका कारण रासुवा र नुवाकोटलगायतका जिल्लामा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजनाका बाँध, पावरहाउस, सुरुङ तथा अन्य संरचनामा गम्भीर क्षति पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक मूल्यांकनअनुसार जलविद्युत् क्षेत्रमा भौतिक क्षति मात्रै करिब १ खर्ब ५१ अर्ब ४४ करोड रुपैयाँ बराबर रहेको छ। 

बाढीबाट प्रभावित विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको विवरण संसद्मा प्रस्तुत गरिएको छ। यसअघि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ११ वटा जलविद्युत् आयोजनामा ८९८ जना कामदार तथा कर्मचारी सम्पर्कविहीन रहेको जनाएको थियो।

विशेषगरी अपर त्रिशूली–१, रसुवागढी, लाङटाङ खोला, चिलिमे, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ लगायतका आयोजनामा बाढीले ठूलो क्षति पुर्‍याएको छ। केही आयोजनाका सुरुङभित्र कामदार फसेको आशंकामा नेपाली सेना तथा भारत, चीन र अन्य मुलुकका प्राविधिक टोलीको सहयोगमा खोज तथा उद्धार जारी छ।

अपर त्रिशूली–१ आयोजनामा मात्रै ठूलो संख्यामा कामदार सम्पर्कविहीन भएको र सुरुङभित्र समेत मानिस फसेको आशंका गरिएको छ। त्यस्तै लाङटाङ खोला, चिलिमे तथा त्रिशूलीका अन्य आयोजनामा पनि खोजी कार्य जारी रहेको जनाइएको छ। 

सरकारले क्षतिग्रस्त ऊर्जा संरचनाको पुनर्निर्माणसँगै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापना गर्ने काम अघि बढाएको छ। रासुवा जिल्लाका प्रभावित क्षेत्रमा अधिकांश घरधुरीमा विद्युत् आपूर्ति पुनःस्थापित गरिएको तथा तत्काल विद्युत् पुग्न नसक्ने क्षेत्रमा वैकल्पिक ऊर्जाको व्यवस्था गरिएको विवरणसमेत सार्वजनिक गरिएको छ।

बाढीबाट भएको मानवीय क्षति, ठूलो आर्थिक क्षति र जलविद्युत् आयोजनामा परेको असरले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा उद्धार कार्यलाई थप चुनौतीपूर्ण बनाएको छ। अहिले प्राथमिकतामा सुरुङ तथा आयोजनास्थलमा फसेका वा सम्पर्कविहीन व्यक्तिको खोजी, क्षतिको थप मूल्यांकन र विद्युत् संरचनाको पुनःस्थापना रहेको छ।

 
 
 
 
 
 
 
 
सम्बन्धित समाचार