बैङ्किङ कसुर बढ्दै जाँदा वित्तीय सुशासनमाथि प्रश्न

911 Shares

काठमाडौं । नेपालमा बैङ्किङ कसुर तथा वित्तीय अपराधका घटना बढ्दै गएपछि वित्तीय सुशासनमाथि प्रश्न उठ्न थालेको छ। पछिल्लो आर्थिक वर्ष २०८२/८३ मा बैङ्किङ कसुरसँग सम्बन्धित १२ हजार ९५० भन्दा बढी मुद्दा दर्ता भएको तथ्यांकले यस्तो अवस्था देखाएको हो। 

बैङ्किङ कसुरअन्तर्गत चेक अनादर, बैंकिङ कारोबारमा हुने ठगी तथा अन्य आर्थिक अनियमिततासम्बन्धी घटना उल्लेख्य रूपमा देखिएका छन्। यस्ता घटनाको संख्या बढ्दै जाँदा वित्तीय प्रणालीको पारदर्शिता, नियमन तथा कार्यान्वयनको प्रभावकारितामाथि समेत प्रश्न उठेको छ।

वित्तीय अपराधको स्वरूप पछिल्लो समय परम्परागत बैंकिङ कारोबारबाट डिजिटल माध्यमतर्फ समेत विस्तार हुँदै गएको छ। सामाजिक सञ्जालमार्फत रकम माग्ने, नक्कली लगानी योजना देखाउने, ओटीपी तथा पासवर्ड लिनेजस्ता ठगीका घटना बढिरहेको नेपाल राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन्। 

विशेषगरी उच्च प्रतिफलको प्रलोभन देखाएर लगानी गर्न लगाउने, सामाजिक सञ्जालबाट चिनजान बढाएर रकम पठाउन लगाउने तथा विभिन्न बहानामा ओटीपी वा गोप्य विवरण माग्ने प्रवृत्ति वित्तीय ठगीका प्रमुख माध्यम बनेका छन्। 

यसैबीच बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पदाधिकारीमाथि हुने कारबाहीसम्बन्धी कानुनी व्यवस्थालाई समेत स्पष्ट र प्रभावकारी बनाउनुपर्ने विषय उठेको छ। प्रतिनिधिसभाको अर्थ समितिले बैंक तथा वित्तीय संस्थाका सञ्चालक, पदाधिकारी र कर्मचारीसम्बन्धी दण्ड व्यवस्थामा आवश्यक संशोधन गर्न सरकारलाई निर्देशनसमेत दिएको छ। 

बढ्दो बैङ्किङ कसुर नियन्त्रणका लागि नियमनकारी निकायको प्रभावकारी निगरानीसँगै वित्तीय साक्षरता, डिजिटल सुरक्षा र कानुनी कार्यान्वयनलाई थप बलियो बनाउनुपर्ने देखिएको छ।

 
 
 
 
 
 
 
 
सम्बन्धित समाचार