आगामी पाँच दिन ठूला नदीमा बाढीको जोखिम, आज कहाँ-कहाँ सतर्कता ?

841 Shares

काठमाडौं । देशका प्रमुख नदी तथा जलाधार क्षेत्रमा आगामी पाँच दिनसम्म पानीको बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नदीको जलस्तर र वर्षाको अवस्थालाई आधार बनाएर नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको हो।

महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीलगायत प्रमुख नदी तथा तिनका सहायक नदीमा पानीको बहाव बढ्ने क्रम जारी रहनेछ। केही नदी तथा जलाधारमा जलस्तर उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन भनिएको छ।

यसैबीच, आगामी दिनमा देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। 

वर्षाका कारण चितवन, रसुवा, नुवाकोट, धादिङलगायत यसअघि बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा थप जोखिम हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीको जोखिम रहेका नदी तथा खोलाको आसपास नजान, जलस्तर बढेको अवस्थामा सुरक्षित स्थानतर्फ जान र स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचना पालना गर्न महाशाखाले आग्रह गरेको छ। 

 
सम्बन्धित समाचार