असोज ९ देखि भारी वर्षाको पूर्वानुमानपछि सरकार उच्च सतर्क

841 Shares

काठमाडौं । असोज ९ गतेदेखि देशका विभिन्न भूभागमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमानपछि सरकारले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि तयारी तीव्र बनाएको छ ।

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मंगलबार बबरमहलस्थित मौसम विज्ञान विभाग पुगेर सम्भावित वर्षा, हिमपात र त्यसबाट निम्तिन सक्ने जोखिमबारे जानकारी लिएका छन् ।

उनीहरूले विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायत मौसमविद्सँग भेट गरी आगामी दिनको मौसम अवस्था, जोखिमको क्षेत्र र आवश्यक पूर्वतयारीबारे छलफल गरेका हुन् ।

छलफलका क्रममा मौसमविद्हरूले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने र उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने जानकारी गराएका छन् ।

मौसम प्रणालीको प्रभाव देशभर फैलिन सक्ने भए पनि लुम्बिनी र गण्डकी प्रदेशमा वर्षाको मात्रा तुलनात्मक रूपमा बढी हुने सम्भावना रहेको विभागकी प्रवक्ता पोखरेलले बताइन् ।

लुम्बिनी र गण्डकीमा बढी वर्षाको सम्भावना

प्रवक्ता पोखरेलका अनुसार हालसम्मको मौसम प्रणालीको अवस्था हेर्दा लुम्बिनी र गण्डकी प्रदेशमा वर्षाको प्रभाव बढी देखिने सम्भावना छ ।

भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै डुबान, कटान र पहिरोको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउनुपर्ने विभागले जनाएको छ ।

विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा जोखिम बढ्न सक्ने भएकाले अनावश्यक यात्रा नगर्न र हिमाली क्षेत्रमा जानुअघि मौसमको अवस्था बुझ्न आग्रह गरिएको छ ।

विभागले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग नियमित रूपमा सूचना आदानप्रदान भइरहेको जनाएको छ ।

‘विपद् प्राधिकरणसँग हाम्रो नियमित कुरा भइरहेको छ र सम्बन्धित निकायबाट आवश्यक तयारी पनि भइरहेको जानकारी छ,’ प्रवक्ता पोखरेलले भनिन् ।

असोज ९ देखि ११ गतेसम्म बढी जोखिम

मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर अण्डमान सागर तथा आसपास विकसित न्यूनचापीय क्षेत्र बंगालको खाडीको मध्य भागमा पुगेको छ । उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय प्रणालीमा परिणत भएको विभागले जनाएको छ ।

उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको हो ।

यसको प्रभावका कारण बुधबारदेखि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि क्रमशः बढ्दै जाने पूर्वानुमान गरिएको छ ।

असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ । ती प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने विभागले जनाएको छ ।

त्यस्तै मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

कति वर्षालाई भारी र धेरै भारी भनिन्छ ?

मौसम विज्ञान विभागले वर्षाको मात्रा हेरेर वर्षालाई विभिन्न तहमा वर्गीकरण गर्दै आएको छ ।

एक दिनमा २५ मिलिमिटरभन्दा कम वर्षा भए हल्का, २५ देखि ५० मिलिमिटरसम्म मध्यम र ५० देखि १०० मिलिमिटरसम्म वर्षा भए भारी वर्षा मानिन्छ ।

त्यसैगरी १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा भनिन्छ ।

यसपटक कतिपय स्थानमा १०० मिलिमिटरभन्दा बढी तथा एक–दुई स्थानमा २०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने भएकाले विपद्को जोखिमलाई ध्यानमा राखेर पूर्वतयारी बढाइएको हो ।

राति र टाढाको यात्रा नगर्न आग्रह

मौसम विभागले भारी वर्षा हुने अवधिमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । भारी वर्षाका कारण पहाडी सडकमा पहिरो जाने, नदी तथा खोलामा पानीको सतह बढ्ने र तराईका केही क्षेत्रमा डुबान तथा कटानको जोखिम बढ्न सक्ने भएकाले यात्रामा सतर्कता अपनाउन भनिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि विशेष बुलेटिन जारी गर्दै असोज ९ देखि ११ गतेसम्म अत्यावश्यक कामबाहेक टाढा र रातिको समयमा यात्रा नगर्न आम नागरिकलाई आग्रह गरेको छ ।

सम्भावित जोखिम भएका राजमार्ग तथा सडकमा डोजर, एक्स्काभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई भनिएको छ ।

संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्वयंसेवकलगायतका निकायलाई पनि आवश्यक समन्वय गर्दै नागरिकलाई पूर्वसूचना दिने र सम्भावित विपद्का लागि प्रतिकार्य तयारीमा रहन प्राधिकरणले आग्रह गरेको छ ।

सम्बन्धित समाचार