काठमाडौं । अमेरिकाले ग्रिनल्यान्डमा थप दुईवटा सैन्य बेस स्थापना गर्ने तयारी गरेको छ। अमेरिका, डेनमार्क र ग्रिनल्यान्डबीच हुन लागेको त्रिपक्षीय सम्झौताअन्तर्गत अमेरिकाले दक्षिणी ग्रिनल्यान्डको नार्सार्सुआकमा पुरानो सैन्य बेस पुनः सञ्चालन गर्ने तथा पूर्वी तटको मेस्टर्सभिगमा सैन्य उपस्थिति विस्तार गर्ने योजना बनाएको हो।
नार्सार्सुआकमा रहेको ब्लुई वेस्ट वन नामक अमेरिकी सैन्य बेस शीतयुद्धका क्रममा प्रयोग भएको थियो। अमेरिकाले सन् १९५० को दशकमा उक्त बेस बन्द गरेको थियो। अहिले त्यहाँको जनसंख्या केही दर्जनमा सीमित रहेको बताइएको छ। मेस्टर्सभिगमा भने हाल डेनमार्कको विशेष सैन्य इकाइअन्तर्गतको सिरियस डग स्लेड पेट्रोलले गतिविधि सञ्चालन गर्दै आएको छ।
अमेरिका, डेनमार्क र ग्रिनल्यान्डबीचको नयाँ सम्झौता संयुक्त राष्ट्रसंघको महासभा चलिरहेका बेला न्यूयोर्कमा हस्ताक्षर गर्ने तयारी गरिएको छ। सम्झौताको पूर्ण विवरण सार्वजनिक नभए पनि यसले ग्रिनल्यान्ड र अमेरिकाको सुरक्षा बलियो बनाउने उद्देश्य राखेको बताइएको छ।
अमेरिकाले यसअघि पनि ग्रिनल्यान्डमा आफ्नो सैन्य उपस्थिति विस्तार गर्न चासो देखाउँदै आएको थियो। ग्रिनल्यान्डको रणनीतिक अवस्थिति तथा आर्कटिक क्षेत्रमा बढ्दो सुरक्षा चासोलाई अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षासँग जोड्दै आएको छ। हाल अमेरिकाले ग्रिनल्यान्डमा पिटुफिक स्पेस बेस सञ्चालन गरिरहेको छ, जहाँ मिसाइल चेतावनी, मिसाइल प्रतिरक्षा तथा अन्तरिक्ष निगरानीसम्बन्धी गतिविधि सञ्चालन हुन्छन्।
यसअघि ग्रिनल्यान्डलाई अमेरिकाको नियन्त्रणमा ल्याउने विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमा चासो व्यक्त गरेका थिए। त्यसले डेनमार्क तथा अन्य युरोपेली सहयोगी मुलुकसँग कूटनीतिक तनावसमेत सिर्जना गरेको थियो। नयाँ सम्झौताले भने ग्रिनल्यान्डको डेनमार्कअन्तर्गतको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई कायम राख्दै सुरक्षा सहकार्य विस्तार गर्ने बताइएको छ।
नयाँ सैन्य संरचनाले आर्कटिक क्षेत्रमा अमेरिका र नेटोको सुरक्षा गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ। साथै, सम्झौताले ग्रिनल्यान्डमा गैर–नेटो सैन्य बेस स्थापना हुन नदिने तथा चीन र रुसलाई सैन्य उपस्थिति विस्तार गर्नबाट रोक्ने व्यवस्था समेटेको बताइएको छ।