इरानको जीडीपी १०.१ प्रतिशतले घट्यो, तेल–ग्यास क्षेत्रमा २६.४ प्रतिशत संकुचन

946 Shares

काठमाडौं । इरानको अर्थतन्त्रमा पछिल्लो समय ठूलो संकुचन देखिएको छ। सन् २०२६ को मार्च २१ देखि जुन २० सम्मको अवधिमा इरानको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.१ प्रतिशतले घटेको सरकारी तथ्यांकले देखाएको छ। 

इरानको अर्थतन्त्रमा आएको गिरावटको सबैभन्दा ठूलो असर तेल तथा ग्यास क्षेत्रमा परेको छ। उक्त अवधिमा कच्चा तेल र प्राकृतिक ग्यास उत्पादनसम्बन्धी गतिविधि २६.४ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ। तेल क्षेत्रबाहेकको जीडीपीसमेत ४.६ प्रतिशतले संकुचित भएको छ।

त्यस्तै, उद्योग तथा खानी क्षेत्र १४.७ प्रतिशतले र सेवा क्षेत्र ४.८ प्रतिशतले घटेको छ। उत्पादनमूलक उद्योगमा २.५ प्रतिशतको गिरावट आएको छ। कृषि क्षेत्र भने २.३ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ। 

इरानको अर्थतन्त्रमा आएको यो गिरावट अमेरिकी तथा इजरायली युद्ध, तेल निर्यातमा आएको अवरोध, व्यापारमा देखिएको समस्या र मुद्रास्फीतिसँग जोडिएको छ। युद्धका कारण इरानको महत्वपूर्ण विदेशी मुद्रा आर्जनको स्रोत मानिने तेल निर्यातमा समेत ठूलो असर परेको छ।

यस अवधिमा इरानमा महँगी पनि उच्च रहेको बताइएको छ। १२ महिनाको औसत मुद्रास्फीति दर ६९.९ प्रतिशत पुगेको र खाद्यवस्तु, पेय पदार्थ तथा सुर्तीजन्य वस्तुको मूल्यवृद्धि अझ उच्च रहेको तथ्यांकमा उल्लेख छ। 

तेल निर्यातमा आएको गिरावटले इरानको अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ। मार्चमा दैनिक करिब २० लाख ब्यारेल रहेको कच्चा तेल तथा कन्डेन्सेट लोडिङ जुलाईमा करिब ७ लाख ४० हजार ब्यारेल र अगस्टमा २ लाख २० हजारदेखि २ लाख ५५ हजार ब्यारेल प्रतिदिनसम्म झरेको अनुमान गरिएको छ। 

यसरी युद्ध, व्यापार अवरोध र तेल निर्यातमा आएको कमीका कारण इरानको अर्थतन्त्रमा व्यापक प्रभाव परेको देखिएको छ। आगामी दिनमा तेल निर्यात तथा व्यापार गतिविधि सामान्य बन्न नसके आर्थिक दबाब थप बढ्न सक्ने विश्लेषण गरिएको छ। 

 
 
सम्बन्धित समाचार