काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन् ।
प्रधानमन्त्री शाहसहितको टोली अपराह्न सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजमार्फत न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमण हो ।
प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार तथा फोटोग्राफर विनय शाक्यलगायत सहभागी हुनेछन् ।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्राथमिकता तथा चासोका विषय प्रस्तुत गर्नेछन् ।
प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।