काठमाडौं । रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन् । देशका विभिन्न स्थानमा एकैसाथ आयोजना गरिएको राइडमा काठमाडौंमा मात्रै ६ सयभन्दा बढी राइडर सहभागी भएका थिए ।
काठमाडौंको राइड कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भई गोदावरीस्थित बेस्ट वेस्टर्न प्लसमा पुगेर सम्पन्न भएको थियो । देशभरका २२ वटा अधिकृत डिलरबाट राइडरहरू कार्यक्रममा सहभागी भएको रोयल इन्फिल्ड नेपालले जनाएको छ ।
राइडका क्रममा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत डाउन सिन्ड्रोम एसोसिएसन नेपाललाई २ लाख रुपैयाँ सहयोग गरेको छ । सहयोग रकमको चेक अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले डाउन सिन्ड्रोम एसोसिएसन नेपालका अध्यक्ष रमेश तामाङ, उपाध्यक्ष डा. प्रभा मैनाली र आरके सिंहलाई हस्तान्तरण गरेका थिए ।
चेक हस्तान्तरण कार्यक्रममा निर्देशक पौडेलले राइडिङलाई मोटरसाइकल र यात्रामा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व तथा समुदायसँगको सहकार्यसँग जोड्दै लैजाने बताए । आगामी दिनमा पनि यस्ता सामाजिक तथा सामुदायिक गतिविधिलाई निरन्तरता दिने उनको भनाइ थियो ।
कम्पनीका अनुसार ‘वान राइड’को मुख्य उद्देश्य देशका विभिन्न स्थानमा रहेका रोयल इन्फिल्ड राइडर तथा राइडर समुदायलाई एउटै अभियानमार्फत जोड्नु, अनुभव आदानप्रदान गर्नु र सुरक्षित तथा जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहन गर्नु हो ।
रोयल इन्फिल्ड नेपालले आफ्नो राइडर समुदायलाई मोटरसाइकल तथा राइडिङमा मात्र सीमित नराखी सामाजिक गतिविधिसँग समेत जोड्दै आएको जनाएको छ । ‘प्योर मोटरसाइकलिङ’को अवधारणाअन्तर्गत आयोजना गरिएको ‘वान राइड’ले देशभरका राइडरलाई एउटै अभियानमा सहभागी गराउनुका साथै स्थानीय समुदायसँगको सम्बन्ध थप मजबुत बनाएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार रोयल इन्फिल्डका लागि राइडिङ केवल यात्राको माध्यम नभई अन्वेषण, अनुभव र समुदायसँग जोडिने अवसर पनि हो । यही अवधारणाअनुसार आगामी दिनमा पनि राइडर समुदाय तथा स्थानीय समुदायसँग सहकार्य गर्ने सामाजिक गतिविधिलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ ।