काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनअघि युवा पुस्ताको मनोविज्ञान बुझ्न र सामाजिक सञ्जालसँग सम्बन्धित विषयलाई स्पष्ट रूपमा सम्बोधन गर्न नसकिएको स्वीकार गरेका छन्।
एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमा ओलीले पछिल्लो समय युवापुस्तामा विकसित हुँदै गएको असन्तुष्टि र सामाजिक सञ्जालको प्रभावलाई समयमै बुझ्न नसक्नु कमजोरीका रूपमा उल्लेख गरेका हुन्।
उनका अनुसार नयाँ पुस्ताको सोच, अपेक्षा र सामाजिक सञ्जालमार्फत तीव्र रूपमा फैलिने सूचना तथा धारणालाई पार्टी र सरकारले पर्याप्त गम्भीरताका साथ लिन सकेनन्। यही कमजोरीका कारण जेनजी आन्दोलनको अवस्था सिर्जना हुनुअघि आवश्यक संवाद र सम्बोधन प्रभावकारी हुन नसकेको उनको भनाइ छ।
ओलीले सामाजिक सञ्जालको नियमन र त्यससम्बन्धी कानुनी व्यवस्थाबारे पनि स्पष्टता आवश्यक रहेको बताएका छन्। युवापुस्तासँग सम्बन्धित विषयमा संवाद बढाउँदै उनीहरूका प्रश्न, अपेक्षा र असन्तुष्टिलाई समयमै सम्बोधन गर्नुपर्ने उनको धारणा छ।
जेनजी आन्दोलनपछि राजनीतिक दल र सरकारको कार्यशैली, सामाजिक सञ्जालको प्रयोग तथा युवा पुस्तासँगको सम्बन्धबारे व्यापक बहस हुँदै आएको छ। आन्दोलनसँग सम्बन्धित घटनाको अध्ययन गर्न गठित विभिन्न निकायका प्रतिवेदनमा पनि त्यस अवधिको घटनाक्रम र सरकारी तथा सुरक्षा संयन्त्रको भूमिकाबारे विभिन्न निष्कर्ष तथा सुझाव प्रस्तुत भएका छन्।
एमाले बैठकमा ओलीले विगतका कमजोरीबाट पाठ सिक्दै पार्टीलाई नयाँ पुस्तासँग जोड्ने तथा बदलिँदो सामाजिक र राजनीतिक परिवेशअनुसार संगठनलाई अघि बढाउने विषयमा समेत जोड दिएका छन्।