काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल लिगल कोअपरेशन, २०२६’ मा सहभागी हुन आइतबार चीन प्रस्थान गरेका छन् । चीन कानुन समाजको आयोजनामा हुने उक्त कार्यक्रममा सहभागी हुन प्रधानन्यायाधीश शर्मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको ग्वान्झाउ प्रस्थान गरेका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानन्यायाधीश शर्मासहितको प्रतिनिधिमण्डल आइतबार चीनतर्फ प्रस्थान गरेको हो । प्रधानन्यायाधीश शर्माको भ्रमण दलमा उनकी धर्मपत्नी उमा शर्मा, सर्वोच्च अदालतका मुख्यरजिस्ट्रार विमल पौडेल र उपरजिस्ट्रार राजेन्द्र पौडेल सहभागी छन् ।
अन्तर्राष्ट्रिय कानुनी सहकार्यसम्बन्धी उक्त कार्यक्रममा विभिन्न मुलुकका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ । कार्यक्रममा कानुनी सहकार्य तथा न्यायिक क्षेत्रसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ ।
प्रधानन्यायाधीश शर्मा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल असोज ८ गते स्वदेश फर्किने कार्यक्रम रहेको सर्वोच्च अदालतले जनाएको छ ।