काठमाडौं । असोज ८ गतेदेखि नेपालमा भारीदेखि अति भारी वर्षा हुने चर्चा बढेपछि मौसमविद्हरूले यसबारे विभिन्न आकलन सार्वजनिक गरेका छन्। बंगालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणालीका कारण आगामी दिनमा नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने देखिएको हो।
मौसमविद्हरूका अनुसार असोज ८ देखि १२ गतेसम्म बंगालको खाडीबाट विकसित हुने प्रणाली र पश्चिमी वायुमण्डलीय प्रणालीबीच अन्तरक्रिया हुन सक्ने सम्भावना छ। त्यसबाट नेपालतर्फ पर्याप्त जलवाष्प भित्रिएमा देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुनसक्ने आकलन गरिएको छ।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञानका उपप्राध्यापक डा. विनोद पोखरेलले विभिन्न पूर्वानुमान मोडल अध्ययन गर्दा धेरै वर्षा हुने सम्भावना देखिएको बताएका छन्। केही मोडलमा अत्यधिक ठूलो वर्षाको संकेत देखिए पनि वर्षा कुन स्थानमा कति केन्द्रित हुन्छ भन्ने कुरा अहिले नै निश्चित नभएको उनको भनाइ छ।
तर नेपाल मौसम विज्ञान विभागले भने अहिले नै वर्षाको प्रभाव र मात्रा निश्चित भइसकेको अवस्था नरहेको जनाएको छ। मौसमविद् सञ्जीव अधिकारीका अनुसार बंगालको खाडीमा बन्न लागेको प्रणालीको विकास र मार्ग अझै निगरानीमा रहेकाले तत्कालै ठूलो वर्षा भइहाल्ने अवस्था भने होइन।
हालको पूर्वानुमानअनुसार असोज ६ गतेदेखि पूर्वी नेपालतर्फ वर्षाको गतिविधि बढ्न सक्ने र असोज ७–८ गतेतिर कोशी, मधेस तथा बागमती प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। प्रणाली थप विकसित हुँदै गएमा त्यसको प्रभाव अन्य क्षेत्रमा पनि विस्तार हुन सक्नेछ।
मौसमविद्हरूले प्रणालीको बाटो र शक्ति परिवर्तन हुन सक्ने भएकाले अहिले नै ‘भीषण वर्षा निश्चित हुन्छ’ भनेर निष्कर्ष निकाल्न नसकिने बताएका छन्। यद्यपि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बाढी, पहिरो तथा डुबानको जोखिम भएका क्षेत्रमा पूर्वतयारी र सतर्कता अपनाउन सुझाव दिइएको छ।